संसारका सर्वाधिक महँगा सहर !

काठमाडौं । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको ताजा रिपोर्टअनुसार संसारको सबैभन्दा महँगो सहर कुन होला ? लन्डन, न्युयोर्क, पेरिस वा हङकङ, अँह होइन । यो सूचीका लागि इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले संसारभरका सहरमा लाग्ने निर्वाह खर्चलाई आधार बनाएको थियो । यो सर्वेक्षणका क्रममा १७३ देशमा २०० भन्दा बढी उत्पादन तथा सेवाहरुको शुल्कबीच तुलना गरिन्छ । यसमा सहरका बासिन्दाले उपभोग गर्ने वस्तु वा सेवाको मूल्यलाई अमेरिकी डलरमा परिवर्तन गरी तुलनात्मक अध्ययन गरिने बताइएको छ ।
भनिन्छ सप्लाई चेनको समस्या तथा कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिमा कैंयन् सहर थप महँगा भएका छन् भने त्यहाँको निर्वाह खर्च आकासिएको छ । संसारभर तेलको मूल्य वृद्धिसँगै यातायात र ढुवानी खर्च बढेका कारण सबैजसो सहर थप महँगा भएका हुन् ।
पहिले यो सूचीमा भएको दशौं महँगो सहरबारे जानौं । जापानी सहर ओसाका महँगो सहरको दशौं स्थानमा छ । यो सूचीको नवौं स्थानमा अमेरिकाको लसएन्जलस तथा आठौं स्थानमा डेनमार्कको राजधानी कोपेनहेगेन छन् ।
न्युयोर्क यो ताजा सूचीको छैटौं स्थानमा छ भने स्विट्जरल्यान्डको जेनेभा सातौं स्थानमा छ । महँगो सहरको सूचीमा हङकङ पाँचौं स्थानमा तथा स्विट्जरल्यान्डको अर्को सहर ज्यूरिख चौथो स्थान छ ।
फ्रान्सको राजधानी पेरिस गएको वर्ष यो सूचीको पहिलो स्थानमा थियो । यसपटक पेरिस दोस्रो स्थानमा धकेलिएको छ । दोस्रो स्थानमा पेरिससँगै सिंगापुर पनि छ ।
पेरिसलाई पहिलो महँगो सहरबाट दोस्रो स्थानमा धकेल्ने सहर हो इजरायलको राजधानी तेलअबिभ । डलरको तुलनामा इजरायली मुद्रा शेकेल थप मजबुत भएको तथा यातायात अनि किराना सामानको मूल्यमा देखिएको भारि वृद्धिका कारण तेलअबिभ पाँच स्थानको छलाङ लगाउँदै पहलोपटक सर्वाधिक महँगो सहर भएको हो ।
जर्मनीको राजधानी बर्लिन आठ स्थान तल झर्दै पचासौं महँगो सहर भएको छ । यो सूचीमा जर्मनीका ६ वटा सहर छन् र तीमध्ये सबैभन्दा कम महँगो सहर बर्लिन हो । जर्मनीको सबैभन्दा महँगो सहर फ्यांकफर्ट हो जुन अन्तर्राष्ट्रिय सूचीको १९औं स्थानमा छ ।
सिरियाको राजधानी दमास्कस भने सर्वेक्षण गरिएका सहरमध्ये सबैभन्दा सस्तो सहर हो । दमास्कस सहरमा बसोबास गरी गुजारा चलाउन संसारमै सबैभन्दा कम खर्च लाग्छ । सस्तो सहरको सूचीमा लिबियाको ट्रिपोली, उज्बेकिस्तानको तासकन्द, ट्युनिसियाको टुनिस, कजाकिस्तानको अल्माटी, पाकिस्तानको कराची, भारतको अहमदाबाद, अल्जेरियाको अल्जियर्स, अर्जेन्टिनाको ब्युनर्स आयर्स तथा जाम्बियाको लुसाका सहरहरु छन् ।
-एएफपी
प्रतिक्रिया