शनिबार, वैशाख १५, २०८१

केटीले केटा भित्र्याएपछि…

नेपालखोज २०७८ मंसिर २१ गते १०:२१

काठमाडौं । प्रायः विश्वका अधिकांश समाज पितृसतात्मक छन् । यस्तै नेपाल, भारत, बंगलादेशलगायत एसियाका मुलुकहरु पितृसतात्मक प्रणालीमा आधारित छन् । तर, दक्षिण एसियामा भारतको एउटामात्रै राज्य यस्तो छ, जहाँ मातृसतात्मक परिवार छ । भारतको सानो पहाडी राज्य मेघालयमा मातृसतात्मक प्रणाली कायम छ । सम्पत्ति हक महिलाको नाममा हुन्छ । सम्पत्ति बाबुबाट छोरामा नभई आमाबाट छोरीमा हस्तान्तरण गरिन्छ । राज्य संलालनमा भने पुरुष हावी हुन्छन् । शासन प्रणालीमा महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।

भारतको उत्तरपूर्वी राज्यमा पर्ने मेघालयमा महिलाको हैसियत उच्च छ । त्यहाँ कोही पनि घरमूली आमाको नामबाट चिनिन्छ । अधिकांश खासी जाति रहेको यस राज्यमा महिला-पुरुषमा असमानता भएका समाचार कम मात्रै बाहिरिने गरेका छन् । दाइजोको नाममा हिंसा र महिलामाथि बलात्कारका घटना एकदमै कम हुने गर्छन् ।

No description available.

मेघालय राज्यका धेरै जनजातिहरूले मातृसतात्मक प्रणालीको सदियौंदेखि व्यवहारमा लागु गरेका छन् । यस राज्यमा खासी र गारो जनजाति बहुसंख्यक छन् । खासी मेघालयका विभिन्न समदायका लागि प्रयोग गरिएको साझा शब्द हो । खासीअन्तर्गत भिन्न जाति, भाषा, संस्कार, संस्कृति, रहनसहन, वेशभूषा र मानिसका बानीहरू पनि पर्छन् ।

मेघालयको खासीलाई संसारको सबैभन्दा ठूलो जीवित मातृसतात्मक परम्परा भएको जातिका रुपमा लिइन्छ । हिन्दु, मुस्लिम, इसाई धर्म मान्ने विश्वका प्रायः देशमा केटाले केटी विवाह गरेर आफ्नो घरमा ल्याउने गर्छन् । तर ८० प्रतशत खासी जनसंख्या रहेको भारतको मेघालय राज्यमा विवाहमा केटीले केटा भित्र्याउने चलन छ । खासी समुदाय मेघालयका साथै आसाम र बंगलादेशको सीमावर्ती क्षेत्रमा पनि बस्छन् । यस समुदायलाई पूर्वी एसियाका मोन-खमेर मानिससँग पुर्खाको सम्बन्ध भएको आप्रवासी पनि मानिने गरिन्छ ।

मेघालयको मातृवंशीय समाजमा महिलाहरूको प्रमुख भूमिका छ । यस राज्यको सामाजिक कानुनअनुसार परिवारको कान्छी छोरी सबै पैतृक सम्पत्तिको उत्तराधिकारी हुन्छिन् । अरु छोरीलाई अंशस्वरुप थोरै सम्पत्ति मात्रै दिने गरिन्छ । बिहेपछि श्रीमान् सासूको घरमा बस्छन् । आमाको थरबाट बालबालिकाको नाम र थर राख्ने गरिन्छ । कुनै दम्पत्तिका छोरी नजन्मिए कसैको छोरी धर्मपुत्री राख्ने चलन छ । यस समुदायमा आफ्नो सम्पत्तिको अधिकार तिनै धर्मपुत्रीलाई दिने गर्छन् । छोरी जन्मेको दिन हर्षबडाइँ गरिन्छ भने छोराको जन्मलाई स्वीकार मात्रै गरिन्छ ।

‘खासी सामाजिक प्रथा वंशावली ऐन’ ले महिलालाई भरपूर सुरक्षा प्रदान गरेको छ । महिलाले पुनर्विवाह गरेर बच्चा जन्माउनु सामान्य मानिन्छ । उनीहरूमा कुनै सामाजिक कलंक लाग्दैन । यस राज्यका महिलालाई अन्तरजातीय विवाह गर्न पनि छुट छ । सबै अधिकार उपभोग गर्ने महिलाहरू स्वतन्त्र जीवन बिताउँछन् । राम्रो लुगा लगाउँछन् । चर्चमा उनीहरू नै अगुवा भएर उपस्थित हुन्छन् । महिलाले पूर्ण सुरक्षाको आनन्द लिएका हुन्छन् । मेघालयमा अधिकांश व्यापार-व्यवसाय महिलाद्वारा नै सञ्चालित छन् ।

यस परिवारमा बालबालिकाको हेरचाह आमा वा सासूको जिम्मेवारीमा पर्छ । अधिकांश पैतृक सम्पत्ति प्राप्त गर्ने यस समुदायको कान्छी छोरीले बुढेसकालमा आफ्ना आमाबाबुको ख्याल गर्छिन् । नेपालमा प्रायः कान्छा छोराले आमाबाबु पाल्ने भन्ने परिपाटी भएजस्तै खासी जातिमा कान्छी छोरीले बाबुआमाको जिम्मेवारी पूरा गर्नुपर्ने सामाजिक कानुन छ । यस्तै परिवारका अन्य सदस्यमा हेरचाह र शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण जिम्मेवारी पनि कान्छी छोरीको काँधमा हुन्छ ।

No description available.

पछिल्लो समय कतिपय खासी समुदायका पुरुषहरूले आफूहरू दोस्रो दर्जा भएको भन्दै आवाज उठाउने गरेका छन् । उनीहरूले पुरुषहरूको समान अधिकारको रक्षा गर्न माग गर्दै ‘सामाजिक पुनर्संरचना संघ’ लगायत विभिन्न पुरुषवादी सामाजिक संघसंस्था पनि खोलेका छन् । खासी पुरुषहरूले आफ्नो कुनै सुरक्षा नभएको, सम्पत्तिमाथि अधिकार नभएको, व्यापार व्यवसायमा हात हाल्न नसकेकोलगायत गुनासो गर्ने गर्छन् ।

मेघालयमा समाज मातृसत्तात्मक भए पनि राज्य प्रणाली भने मातृसत्तात्मक छैन । मेघालयमा विधान सभा, गाउँ परिषद् वा पञ्चायतमा राजनीतिमा महिलाको प्रतिनिधित्व ज्यादै कम छ । ६० सदस्यीय मेघालय विधान सभामा चार महिलाको मात्रै प्रतिनिधित्व छ । जनजातिको आधारभूत राजनीतिक हात रहेको पुरुष केन्द्रित राजनीतिमा भने महिलाले धेरै कम अवसर पाउने गरेका छन् ।

No description available.
No description available.
No description available.


-द वायर डटइन, दुनियाँका खबर, ड्रिम्स टाइम्स डटकम

प्रतिक्रिया