शुक्रबार, वैशाख १४, २०८१

मानव शरीरमा भिटामिन डी : आवश्यकता र महत्त्व

डा. हेमराज कोइराला २०७८ मंसिर २१ गते ९:४९

भिटामिन ‘डि’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कम खानेकुराहरुमा मात्र पाइन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्त्वपूर्ण खनिज तत्त्वहरुको उपपाचन (metabolism) का लागि आवश्यक यो भिटामिनको कमि आजकल आम रुपमै देखिन थालेको छ ।

आन्तरिक रुपमा शरीर भित्रै पनि बन्न सक्ने हुनाले धेरै वैज्ञानिकहरू यसलाई भिटामिन नमानेर हरमोन पनि मान्दछन् ।

भिटामिन डिको प्रकार :

भिटामिन डि D2 र D3 गरि दुई प्रकारका हुन्छन् ।

१) भिटामिन D2 लाई अर्गोक्यासिफेरले भनिन्छ । यो मिश्रित आहार वनस्पति आहार र पुरक आहारमा पाइन्छ ।

२) भिटामिन D3 लाई कोलेक्याल्सिफेरोल भनिन्छ । यो मिश्रित आहार माछा, मासु, अण्डा, कलेजो आदिमा पाईन्छ । प्राकृतिक रुपमा सूर्यको किरणको उपस्थितमा यो भिटामिनक शरीर भित्रै पनि बन्दछ श्रोतः प्राकृतिक रुपमा धेरै कम खानेकुरामा भिटामिन डि पाइन्छ ।

विशेषत समुन्द्रि माछा (ट्युना, सालमोन, म्याकारोलको कलेजोमा भिटामिन पाइन्छ । थोरै मात्रामा अन्य जानवरको कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुधमा पनि भिटामिन डि पाइन्छ । केही च्याउहरुमा पनि थोरै मात्रामा भिटामिन डि मिल्न सक्छ ।

प्राकृतिक रुपमा धेरै कम तत्त्वहरुमा भिटामिन डि पाइने भएकाले आजकल दूध, मख्खन, पनिर र तयारी खानेकुराहरूमा पनि भिटामिन डि मिसाउने (fortified) गर्न थालिएको छ ।

दैनिक आवश्यकताः # विभिन्न उमेर समूहका व्यक्तिहरूकालागि निम्नलिखित मात्रामा भिटामिन चाहिन्छ ।

१. १ दिनदेखि १ वर्ष ४०० आईयू

२. १ वर्षदेखि १२ वर्ष – ६०० आईयू

३. १३ बर्षदेखि १८ वर्ष-७०० आईयू

४. १८ वर्षदेखि ५० वर्ष ७०० आईयू

५. ५१ वर्षदेखि ७० वर्ष -८०० आईयू

६. ७० वर्षभन्दा माथि -१००० आईयू

७. गर्भवति -१००० आईयू

८.स्तनपाना-१००० आईयू

हाम्रो शरिरमा भिटामिन डिको काम

१) भिटामिन डिले आन्द्रामा क्याल्सियम र फस्फोरसको अवशोषणलाई मद्दत पुर्‍याउँदछ ।

२) क्याल्सियम र फष्फोरस जस्ता तत्वहरुलाई हड्डीमा पुर्‍याएर अस्थि घनत्वलाई बरकरार राख्न पनि भिटामिन डिको आवश्यकता पर्छ ।

३) मृगौलामा मुत्रको रुपमा खेर गईरहेको क्याल्सियमलाई पुनः अवशोषण गरि क्याल्सियम नष्ट हुन दिँदैन ।

४) भिटामिन डिले हड्डी मांशपेशी र लिगामेन्टहरुलाई मजबुद बनाउँदछ ।

५) नशा र मांशपेशीको कार्यलाई सुचारु बनाउँछ ।

६) शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ ।

७) घाउ खटिरा चोटपटक र संक्रामक रोगहरु चाडै निको पार्न मद्दत पुर्‍याउँछ ।

८) मुटु, मृगौला, कलेजो, फोक्सो जस्ता कोमल अड्डहरुको रोगहरुको गम्भिरतालाई घटाएर रोगलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

९) क्यान्सर प्रतिकार गर्न मद्दत पुर्‍याउँदछ ।

१०) डर चिन्ता तनाव र उदासिनताको समस्या कम गर्न सहयोग गर्छ । भिटामिन डिको श्रोतः खानाबाट प्रयाप्त मात्रमा भिटामिन डि पाउन गाह्रो छ । मांशजन्य वस्तुबाट लिदा पनि त्यसबाट भिटामिन डि त पाइएला तर त्यसका धेरै साइड इफेक्ट छन् ।

यस्तो स्थितिमा भिटामिन डि प्राप्त गर्ने भरपर्दो श्रोत भनेकै सूर्यको किरण ताप्नु र शरीर भित्रै भिटामिन डि बन्ने क्रियालाई बटुवा दिनु हो । तथापि केहि खानेकुरामा भिटामिन डि पाइन्छ

१) बोसो भएको माछा/ माछाको तेल

२) कलेजो

३) अण्डाको पहेंलो भाग

४) पनिर, चिज, नौनी, दूध

५) मर्जारिन

६) भिटामिन डि मिसाइएको खानेकुराहरु

प्राकृतिक उपचार

१) भिटामिन डिको स्तर सुधार्नको दैनिक ४५ मिटरदेखि १ घण्टासम्म कटिवस्त्र मात्र लगाएर घाम तापौं ।

२) बाहिर घुमफिर गर्न निस्कदा सनब्लक लोसन वा सनस्क्रिनको प्रयोग नगरौं ।

३) घाम तप्न नपाउने वा नसक्नेहरुले भिटामिन डि मिसाइएको आहारहरुलाई खानामा समावेश गरौं ।

४) भिटामिन डिको स्तर कम देखिएकाहरुले भिटामिन डिको सप्लिमेन्ट लिने गरौं ।

५) कम नभएकाहरुले राम्रो क्वालीटिको मल्टिभिटामिन लिने गरौं ।

६) बेलाबेलामा भिटामिन डिको स्तर चेक जाँच गर्ने गरौं ।

७) तेल मालिसले भिटामिन डिको कमिमा राम्रो काम गर्छ ।

८) कुरीलोको जरा मेथीको धुलो वा अंकुरित, विजयशालको काठको सेवनले पनि भिटामिन डिको कमीले उत्पन्न समस्याहरु समन गर्त मद्दत गर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया