आइतबार, असार ८, २०८२

अर्थमन्त्री शर्मा भन्छन्- सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भयाे

नेपालखोज २०७८ मंसिर २३ गते १८:१०

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको पुँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजना अनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन् ।

अर्थमन्त्री शर्माले तरलता व्यस्थापनको लागि निरन्तर रुपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताए । मन्त्री शर्माले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना बनाएको तर, योजना अनुसार खर्च गर्न नसकेको स्वीकार गरे ।

उनले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरुलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताए । अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बन्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताए ।

सरकारले अहिलेसम्म ४ खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गत आवको तुलनामा ४० प्रतिशतले राजश्व उठेकाले खासै पैसाको अभाव नभएको बताए । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइ नसकेको बताए । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताए ।

उनले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पारे । अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएपनि चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । अर्थमन्त्री शर्माले विदेशबाट अवैधरुपमा भित्रिने सुन नियन्त्रणको लागि अर्थमन्त्रालयले विशेष ‘टास्क फोर्स’ बनाएर विमानस्थल भन्सारमा राखेको बताए ।

उनले अहिले विमानस्थलबाट नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएकाले यसबाट राजश्वमा टेवा पुर्‍याउने बताए । उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँचो सुनलाई थोरै बटारेर ल्याएको सुन दैनिक १९/२० किलो जम्मा भएको बताए । मन्त्री शर्माले सरकारले विलाशिताका वस्तुलाई पनि आयातमा नियन्त्रण गर्ने योजना बनाउने तयारी गरेको बताए ।

त्यस्तै, अर्थसचिव मधुकुमार मरासीनीले सरकार पुँजीगत खर्च बढाउनको लागि निरन्तर विकास बजेट खर्च गर्न मन्त्रालयहरुसँग छलफल भइरहेको बताए । सचिव मरासिनीले चालु आर्थिक वर्षको पूँजिगत खर्च पछिल्लो पटक राजनीतिक परिर्वतन, अध्यादेश बजेट, सरकार परिर्वतन, नयाँ सरकारको प्रतिस्थापन बजेटका कारण कम भएको बताए । उनले अर्थमन्त्रालयले खर्च गर्ने मापदण्डहरु कुनै पनि नरोकेको सबै प्रणालीमार्फत् नै भइरहेको बताए ।

अर्थ सचिव मरासिनीले सरकारले शेयर बजारलाई २५ सय विन्दु नै रहनुपर्छ भन्न नमिल्ने बताए । उनले सरकारले राष्ट्र बैंकको मौद्रिक नीति मार्फत कडाइ गरेको र अहिले घटिरहेको सेयर बजारमा सेयर बढेको बेला किन्ने लगानीकर्तालाई समस्या परेको भन्दै समग्रमा अहिले राम्रो रहेको बताए ।

प्रतिक्रिया