बुधबार, वैशाख १९, २०८१

उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइनमार्फत विक्री हुने

नेपालखोज २०७८ मंसिर २३ गते १९:३६

काठमाडौं । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइनमार्फत विक्री वितरण हुने भएको छ । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसंग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी विक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रवन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षको लागि दराजको अनलाइन सपिङमा निःशुल्क डस्प्लेको सुविधा पाउनुका साथै त्यसका लागि आवश्यक प्रचार, दृश्य लगायतको सुविधा पाउने भएका छन् ।

हस्ताक्षर समारोहमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड(१९ को कारण साना तथा मझौला उद्योगको बजार सञ्जाल टुटेको र व्यापार व्यवसायमा गिरावट आएको बताए । महासंघ र दराजबीचको सम्झौताले बजार सञ्जाललाई जोड्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा साना उद्यमीहरुको उत्पादनलाई आक्रामक रुपमा पु¥याउन सके उद्यमीहरुलाई ठुलो राहत हुने उनको भनाई छ ।

कार्यक्रममा उपस्थित महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रामिण भेगमा उत्पादित सामग्रीहरु ग्राहकले खोजिरहेको अवस्था भएपनि बजारीकरणको माध्यम नहुँदा समस्या भएको बताए । उनले महासंघ र दराजबीचको सम्झौतापश्चात रेशमी र घरेलु उद्यमद्वारा उत्पादित सामग्रीहरुको बजारीकरण हुने बताए ।

दराज नेपालका प्रवन्ध निर्देशक लिनो अलरिङले यस सम्झौताबाट नेपालका अन्य क्षेत्रमा थप विक्रेताहरुलाई दराजमा भित्राउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दराज नेपाल साना तथा मझौला व्यवसायको सशक्तिकरणका लागि काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

सम्झौताअनुसार २०२२ जनवरीदेखि २०२२ डिसेम्बरसम्म साना तथा मझौला उद्योगलाई कुनै पनि शूल्क नलाग्ने, ईकमर्स प्रशिक्षण तथा शिक्षा दिने तथा दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्ने भएको छ । त्यस्तै महासंघले भने आफ्नो नेटवर्कमार्फत् साना तथा मझौला उद्योगको उत्पादनहरुलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने जनाइएको छ ।

प्रतिक्रिया