बिहीबार, जेठ ३, २०८१

नेपालको अर्थतन्त्र पुनरुत्थानमा एनआरएनको भूमिका

नेपालखोज २०७८ मंसिर २४ गते १३:३४

करिब दुई वर्षदेखि नोबेल कोरोना भाइरस (कोभिड-१९) का कारण विश्व अर्थतन्त्र थला परेको छ । यस अवधिमा चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । त्यहाँ कम्पनीहरू बन्द छन्, कामदारहरू कटौती गरिएको छ । यसको नकारात्मक असर तत्काल मात्रै नभएर दीर्घकालसम्म पर्ने निश्चित छ ।

कोभिड समयमा धेरै गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ठूलो समस्या पर्‍यो । हजारौंले रोजगारी गुमाए । कतिपय महिला कम्पनीबाट मात्र होइन घरबाट पनि निकालिए । यस्तो कठिन बेलामा एनआरएनएले तुरुन्तै राहत/उद्धारको काम गर्‍यो । संघले कोभिडका बेला नेपालीलाई सहयोग गर्न अभियान नै चलायो । यस अवधिमा ५० वटा देशमा २५ सय जनाभन्दा बढी स्वयंसेवक खटिए । स्वास्थसम्बन्धी थुप्रै कमिटी गठन गरेर चिकित्सक र नर्सहरूलाई पनि परिचालन गर्‍यो । रोजगारी गुमाएर सडकमा आएकाहरूलाई सेल्टरको व्यवस्था गरेर खाना नपाएकाहरूलाई खाना, अस्पतालमा भएकालाई हेरविचार र औषधिको व्यवस्था गर्ने काम गर्‍यो । दूधेबालक तथा गर्भवती महिलाहरूलाई उद्धार गर्नुपर्ने अवस्था आयो । यूएईबाट ९० महिलालाई उद्धार गरेर नेपाल ल्याइयो । दूधेबालक भएका महिलाहरूलाई राहतका साथै स्वास्थ्य सुरक्षाका सामग्रीहरू पनि वितरण गर्‍यो ।

संघकै पहलमा खर्च नभएका करिब १५ सय नेपालीलाई टिकट काटेर काठमाडौंसम्म आउने मात्र होइन उनीहरूको थातथलो (घरसम्म) पुर्‍याउने व्यवस्था भयो । राहदानी नवीकरणका लागि एनआरएनएले ‘क्याम्प’हरू सञ्चालन गर्‍यो । दूतावास बन्द हुँदा पनि एनआरएनएले आफ्नो झ्याल ढोका बन्द गरेर बसेन । ५/६ ‘भोलेन्टियर’ को समेत कोरोना संक्रमणका कारण मृत्यु भयो । कोरोना संक्रमणका कारण हालसम्म ४ सय ८६ जनाले विदेशमा मृत्युवरण गरिसकेका छन् भने एक लाख १० हजारभन्दा बढी संक्रमित भए । संस्थाले सुरुबाटै राहतको अभियान चलाएको छ । राहतको ‘रिपोर्टेसन’ र ‘रिहाबिलिटेसन’ को अभियान नै सञ्चालन गरेको छ । नेपाल आएका व्यक्तिहरूको पनि संघले रेकर्ड राखेको छ । बाहिर के गरेर आएको यहाँ के गर्दै छ, अब के गर्छ भन्ने विषय पनि संस्थाले सोचिरहेको छ ।

कुबेतबाट एकैचोटि तीन हजारभन्दा बढी महिलालाई उद्धार गरेर नेपाल ल्याइयो । सरकारले टिकट त हाल्यो तर, सेल्टरमा बस्दाको खर्च (बस्ने-खाने सबै व्यवस्था) संघले मिलायो । युरोपियन देशहरूमा समस्यामा परेका विद्यार्थीलाई पनि कोठाभाडा तिर्नेदेखि विभिन्न किसिमका सहयोग गर्न संघ तत्पर रह्यो ।

अहिले करिब आठ लाख नेपाली वैदशिक रोजगारीमा छन् । नेपालीहरूले विदेशमा गएर गर्ने काम र नेपालमा विदेशीहरू आएर गर्ने काममा खासै फरक छैन । नेपालहरू विदेशमा गएर गर्ने त्यही काम नेपालमा गर्दैनन् र विदेशीले आएर गर्छन् । विदेशी नेपालमा आएर गर्ने नेपालीले गर्ने हो भने तीनगुणा बढी ज्याला आउँथ्यो । अहिले चार लाख नेपाली विदेशबाट फर्किएका छन् । तिनीहरूलाई पुनःस्थापना गर्न सकियो भने विदेशीहरू नेपाल आएर लगेको पैसा रोक्न ठूलो मद्दत हुन्छ । कोरोनाको समयमा पनि विदेशबाट आउने रेमिट्यान्स घटेन बरु झनै बढ्यो । विदेशमा काम गर्नेहरूले कोरोनाका बेला घरमा समस्या पर्छ भनेर अघिपछि भन्दा बढी पैसा पठाए । अर्कोतिर यो बेला वैधानिक प्रणालीबाट पैसा पठाउनेको संख्या पनि बढ्यो । तर, खुकुलो भएसँगै फेरि रेमिट्यान्स घट्ने संकेत मिलिरहेको छ ।

संघसँग विदेशमा नेपालीहरूले के सीप सिकेका छन् भन्ने तथ्यांक पनि छ । यो एकदमै ठूलो सम्पत्ति हो । कसले के सीप सिकेको छ उसलाई त्यही सीप प्रयोग गर्ने गरी पुनःस्थापनाका लागि कार्यक्रम ल्याउन सरकार र संघबीच सहकार्य गर्नुपर्नेछ । पुनःस्थापना एक्लैले गरेर सम्भव छैन । सार्वजनिक क्षेत्र, सरकार र निजी क्षेत्र सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।

सामूहिक लगानीको एजेन्डा
संघले पहिलेदेखि नै नेपालमा लगानी ल्याउनुपर्छ भनेर लागेकै हो । संघकै अग्रसरता र व्यक्तिगत पहिलमा एनआरएनएहरूले ठुल्ठूला क्षेत्रमा लगानी पनि गरिरहेका छन् । तर, सामूहिक रूपमा ठूलो लगानी आएको भने छैन । सामूहिक लगानी हुनुपर्छ भनेर एनआरएनए इन्भेस्टमेन्ट कम्पनी पूर्वअध्यक्ष जीवा लामिछानेको पहलमा खोलिएको छ । त्यसमा एक हजारभन्दा बढी गैरआवासीय नेपालीले न्यूनतम एक लाखदेखि अधिकतम एक करोड रुपैयाँसम्म लगानी गरेका छन् । यो कम्पनीले धेरै पूर्वाधार क्षेत्रमा लगानी पनि गरेको छ । यसैबाट हामी प्रभावित भएर अब झन् धेरै मानिसहरूले गर्न सक्छन् भनेर ‘ड्रिम प्रोजेक्ट’ का रूपमा १० अर्ब रुपैयाँ (१० करोड डलर) को कम्पनी संघकै अध्यक्ष कुमार पन्तको अध्यक्षतामा खडा भएको छ ।

कम्पनीमा सुरुमा एक करोड ५० लाख डलर सरकारले हाल्ने र आठ करोड ५० लाख डलर एनआरएनमा आबद्ध व्यक्ति तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले न्यूनतम हजार रुपैयाँदेखि सेयर किन्न मिल्ने गरी लगानी जुटाउने नीति अंगीकार गरिएको छ । कम्पनी दर्ता भइसकेकाले रकम जुटाउन सार्वजनिक आह्वान पनि भइसकेको छ । कम्तीमा विदेशमा बस्ने ४-५ लाख व्यक्तिको संलग्नतामा केही महिनाभित्रै सञ्चालनमा आउँछ । विदेशमा रहेका ४-५ लाख नेपालीले डिम्याट एकाउन्ट खोल्छन् र उनीहरूलाई नेपाली अर्थतन्त्रसँग जोड्न कामयाबी हुन्छ । यो कम्पनी विदेशमा बस्ने ७० लाख नेपालीलाई नेपाली अर्थतन्त्रसँग जोड्ने सुरुवाती विन्दु (स्टार्टिङ प्वाइन्ट) बन्नेछ र यसले अर्थतन्त्रमा उपलब्धि प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

स्वीकृति लिनुपर्ने सबैजसो ठाउँबाट कम्पनीले अनुमति पाइसकेको छ । चार वर्षअगाडि लगानी सम्मेलनमा संघले गरेको १० करोड डलरको लगानी प्रतिबद्धता कार्यान्वयनमा गएको छ । लगानी सम्मेलनमा लगानी नेपाल भित्र्याउन धेरै विदेशी कम्पनीहरूले प्रतिबद्धता देखाए पनि संघले गरेको प्रतिबद्धता कार्यान्वयनमा आउनु ठूलो उपलब्धि हो । कम्पनीमार्फत गरिने लगानीसँगै संघले सन् २००५ देखि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने अधिकारसहितको दोेहोरो नागरिकताको निरन्तरतामा जोड दिइरहेको छ । तर, अझै कार्यान्वयन भएको छैन । भोलि पनि प्राथमिकता दोहोरो नागरिकताको व्यवस्था नै हुन्छ । नागरिकता लिएको एनआरएनएले के-के गर्न पाउने र नागरिकता नभएको एनआरएनएले के-के गर्न पाउने भनेर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वर्णनसहित कानुन बनाउन संघले आगामी दिनमा थप दबाब सिर्जना गर्नेछ ।

अहिलेको लगानी सुरुवात मात्रै हो । सुरुवाती कोषलाई बढाउँदै लैजाने योजना छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू बल हुँदा विदेशमा काम गर्ने र नेपाल आएपछि बोझ ठान्ने प्रवृत्ति अधिक छ । यस्तो स्थितिबाट पार पाउन निवृत्तिभरण (पेन्सन) कोष वा सामाजिक सुरक्षा कोषको व्यवस्था गरी विदेशमा काम गर्ने नेपालीहरूको रोजगारीलाई सुनिश्चित गराउनुपर्ने आवश्यकता छ ।

विदेशमा काम गर्ने दौरान श्रम स्वीकृति लिएको व्यक्ति कसैको मृत्यु वा अंगभंग भए सानोतिनो बिमा पाउँछ तर श्रम स्वीकृति नभएकाले केही पनि नपाउने स्थिति छ । यस्तो अवस्थामा वैदेशिक रोजगारीमा देखिएका समस्याहरूलाई निराकरण गर्दै वैदेशिक रोजगारमा भएका जति पनि ठगीधन्दाहरू छन्, त्यसलाई न्यूनीकरण गर्न संघले सक्रियतापूर्वक भूमिका खेल्नेछ ।

नेपालमा बौद्धिक लगानी एकदमै कम छ । संघसँग अहिले प्रविधि छ, भौतिक रूपमा नेपालमै आएर बस्नु पर्दैन । कौशल हस्तान्तरण (स्किल ट्रान्सफर) को काम अमेरिका, युरोप वा अन्य जुनसुकै स्थानबाट पनि हुने स्थिति छ । प्रतिष्ठित विश्वविद्यालयमा पढाउने हजारौं प्राध्यापक, इन्जिनियर, चिकित्सकहरू छुट्टीका बेलामा नेपालमा आएर भोलेन्टियरका रूपमा आफूले जानेको सीप सिकाउन चाहिरहेका छन् । दोस्रो पुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याएर संघमा आबद्ध गराउन हरदम प्रयास गरिनेछ । समस्या बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्तिले एनआरएनएका भूमिकालाई थप प्रभावकारी बनाइ संस्थागत अस्तित्व जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

(गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीको यो सामग्री हामीले आर्थिक पत्रकार संघ (नाफिज) ले प्रकाशन गरेको ‘अर्थचित्र नाफिज जर्नल’ बाट लिएका हौं ।)

प्रतिक्रिया