भिटामिन डी कम वा बढी भए के हुन्छ ?

कमी भए के के हुन्छ ?
भिटामिन डीको कमीले बच्चाहरूमा रिकेट्स र वयस्कहरुमा अष्टियोमलासिया नामक रोगहरु लाग्छ । यी रोग लागेकाहरूको आन्द्राले पर्याप्त क्याल्सियम अवशोषित गर्न सक्दैन । फलतः रगतमा क्याल्सियम र फस्फोरसको स्तर यथावत राख्न शरीरले हड्डी र कार्टिलेजहरूमा संकलित क्याल्सियम र फस्फोरस निकालेर रक्त स्रोत कायम राख्छ । भिटामिन डीको कमी भए पिसाबमा खेर गइरहेका क्याल्सियम र फस्फोरसलाई पनि पुन अवशोषण गरेर फर्काउन नसक्दा पिसाबमा यी तत्वहरुको उत्सर्जन देख्न सकिन्छ ।यी सबै घटनाहरूमा मुख्यतः निम्नलिखित लक्षणहरू -देख्न सकिन्छ ।
-हड्डीको अस्थि घनत्व घट्ने ।
-हड्डी कमजोर भई भाच्चिने चर्किने ।
-जोर्नीहरु दुख्ने, चलाउँदा कटकट आवाज आउने
-ढाड, कम्मर, गर्दन, पिडुला, तिघ्रा दुख्ने
-कपाल झर्ने, नड्ड भाचिने ।
-जिउ पोल्ने, मासंपेशी बाउडिने ।
-घाउ खटिरा र संक्रमण भइरहने ।
-थाकेको महसुस हुने, सिथिलता बढ्ने ।
-बेचैनी बढ्ने-भावनात्मक विचलन भइरहने ।
-महिनावारी गडवड भइरहने ।
-बाँझोपन जस्ता समस्या देखापर्ने
भिटामिन डी कम हुँदा देखिने लक्षण
-थकान
-मांशपेशी एवं हड्डीमा दिर्घकालिन पिडा
-तौल बढ्ने
-हड्डी र मांशपेशीहरुमा ऐठन र कमजोरी
-जोर्नी दुख्ने
-निन्द्रा कचमिच रहने
-मानसिक तनाव
-स्मृतिनास
-टाउको दुख्ने
-रक्तचाप बढ्ने
-नरमाइलो लागि रहने
-एकाग्र, ध्यानात्मक र लयात्मक हुन नसक्ने
-इच्छाशक्तिमा कमी
-घोर निरासा
-बेचैनी
कम हुने कारणहरू
-खानामा भिटामिन डी युक्त खानेकराहरुको कमी
-घाममा एक्सपोज हुन नसक्ने जीवनशैली
-छालामा भएको मेलालिन पिगमेण्टले सूर्यको अल्ट्रामाइलेट वी (UVB) लाई प्रतिरोध गरि भिटामिन बन्न दिँदैन ।
-पाचन प्रणाली कलेजो एवं मृगौला सम्बन्धी रोगहरू ।
-मोटोपन
-तनाव चिन्ता भय उदासिनता अनिन्द्रा र अन्य मनोवैज्ञानिक समस्याहरू
-क्रोन्स डिजिज, सिस्टिक फाइब्रोसिस, सिलियाक रोग जस्ता रोगले भिटामिन डीका अवेशेषणलाई प्रभावित गर्छ ।
बढी भए के हुन्छ ?
शरीरमा चाहिनेभन्दा ज्यादा भिटामिन डी भए पनि नशा र मांशपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने मांशपेशीको टोन कम हुने, बेचैनी बढ्ने, कोमल तन्तुहरुमा क्याल्सियम जम्मा हुने, मृगौलामा पत्थरी पलाउने मृगौला फेल हुने र हड्डी र कलेजहरु असाधरण रुपले बढ्ने जस्ता समस्या देखा पर्दछ ।
कमी भएको कसरी थाहा पाउने ?
भिटामिन डीको रक्तस्तर ठीक छ छैन भनेर भिटामिन डी २५ हाइड्रोक्सी–कोलेक्यल्सिफेरोलको रक्त–स्तर जाँच्नु पर्ने हुन्छ । रक्त स्तरलाई ng/ml को इकाईमा मापन गरिन्छ ।
१० ng/ml भन्दा तल अत्यन्त कमी
१० –२० ng/ml भन्दा तल कमी
२०–३० ng/ml अपर्याप्त
३०–५० ng/ml ठिक्क
५०–१०० ng/ml प्रर्याप्त
१०० भन्दा ng/ml भन्दा माथि विषाक्त
उपचार
भिटामिन डी कम भएकाहरुले यो कमीलाई पुर्ति गर्न सर्वप्रथम शरीर भित्रै भिटामिन डी बन्ने क्रियालाई बढाउनु पर्ने हुन्छ । यसका लागि सूर्यको किरणमा बस्नुपर्ने हुन्छ । हप्तामा १ वा २ दिन वा महिनामा ५-७ दिन वा वर्षमा ५०–६० दिन हरेक पल्ट ४५ मि. देखि १ घण्टासम्म घाममा बसियो भने पनि शरीरलाई चाहिने जति भिटामिन डी शरीर भित्रै बन्न सक्छ । घाममा बस्दा सकभर निवस्त्र भएरै बसेको राम्रो हो । निवस्त्र हुन सम्भव नभए कमसेकम ८०–८५% हिस्सा कपडा विहिन हुन आवश्यक छ । घाम जति चर्को भयो त्यति नै भिटामिन डीको संश्लेषण ज्यादा हुन्छ तर चर्को घाममा सूर्यको अल्ट्राभाइलेट विकिरणले छालालाई आघात पुर्याउने हुँदा सकभर बिहानको घाम ताप्न उचित हुन्छ ।
खानपानमा ध्यान
भिटामिन डी खानाको माध्यमद्वारा पनि प्राप्त गर्न सकिन्छ । भिटामिन डी को मुख्य प्राकृतिक श्रोत माछा, माछाको तेल, कलेजो, मृगौला, अण्डा जस्ता फलमासु हुन तर मासु आफैँमा स्वस्थकर खाना नभएकाले भिटामिन डी को लागि मासु नखाएर सप्लिमेन्ट लिनु उपयुक्त हुन्छ। आजकल भिटामिन डी मिसाइएको दही, दुध, तोफु, चिज, पनिर र अन्य खानेकुराहरु पनि पाईन्छ । यो चिल्लो पदार्थमा घुल्ने भिटामिन हो । तसर्थ भिटामिन डीलाई सही सदुपयोग गर्न स्वस्थकर चिल्लो पदार्थ खानुपर्ने हुन्छ । विशेषतः तैतिय फलफूल, सुख्खा फलफूल र क्रिमयुक्त दुध तथा दुग्ध परिकार आदि खान स्वस्थकर हुन्छ भिटामिन डी युक्त खानेकुराहरूको साथमा क्यालसियमयुक्त खानेकुराहरुको सेवन गर्न पनि अपरिहार्य हुन्छ । दुध र दुग्धजन्य परिकारहरु, हरियो सागपात, पालुगो, लट्टे, लुडे, वेथे, च्याउ, सिबी, बोडी, काउली, ब्रोकाउली, चुकन्दर, टमाटर, केरा सुन्तला, सिंघाडा आदिमा प्रसस्त क्याल्सियम पाइन्छ । कोदो, फापर, गहत, मकै, जवार, बाजरा, जुनेलो, सामा, कागुनी चिनो आदिमा पनि प्रशस्त क्यालसियम पाइन्छ । सुख्खा फलफूल जस्तै: बदाम, किसमिस, छोकडा, खजुर, अंजीर, ओखर, तिल, मुङफली जस्ता खानेकुरामा पनि प्रशस्त क्यालसियम पाइन्छ ।
व्यायम गरौ / सक्रिय रहौं
श्रम वा व्यायम गर्ने बानीले शरीरलाई स्फूर्त एवं तन्दुरूस्त बनाइरहन मद्दत गर्छ । व्यायाम गर्दा नशा नाडीमा रक्त सञ्चार भइरहने हुँदा भिटामिन डीलाई कोष-कोषसम्म पुर्याएर यसको कार्यलाई पूर्ण गर्न मद्दत पुर्याउँछ । दैनिक ३० मिनेटको व्यायम हर कसैलाई आवश्यक पर्छ । व्यायम गर्दा एकपल्ट शरीरका सबै जोर्नीहरु चल्नु पर्ने एकपल्ट सरर पसिना फुट्नु पर्ने र शरीरका भित्री अंगको पनि व्यायम हुनुपर्ने हुन्छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया