रुसले युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी

काठमाडौं । बेलायतकी विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएकी छन्। उनले यसै साता लिभरपूलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने उनले जनाएकी छन् ।
ट्रसले यूके र उसका साझेदारहरूले युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने कामलाई रोक्नुपर्नेमा जोड दिएकी छन्। युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू भेला गरेपछि तनाव बढेको छ । तर क्रेमलिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ ।
अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोर्होयाउँदै ब्रिटिश विदेशमन्त्री भन्छिन्, ‘जी–सेभेन’ युक्रेनका सम्बन्धमा आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिएको छ । रुसले युक्रेनमा हमाला गरे त्यो रणनीतिक गल्ती हुने र त्यसको रुसले गम्भीर परिणाम भोग्नुपग्छ । ’
उनले यसै साता हुने ‘जी–सेभेन’ बैठकमा एकै खाले मत राख्ने साझेदारहरूले एकै स्वरमा त्यसको विरोध गर्न गइरहेको पनि बताएकी छन्। रुस र युरोपेली संघ (इयू) दुवैतर्फ सीमा जोडिएको युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ । युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो ।
रुसले चाहिँ युक्रेनलाई उक्साएको आरोप लगाएको छ । उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ । जी–सेभेन बैठकअघि ब्रिटिश विदेशमन्त्रीले युक्रेनी विदेशमन्त्री दिमित्रो कूलेबासँग लण्डनमा कुराकानी गरेकी छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलवार उक्त क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गरेका थिए । रुसी आक्रामकताप्रति सैन्य प्रतिक्रियालाई अस्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नको उत्तरमा ट्रसले यूकेले युक्रेनसँग रक्षा र सुरक्षा क्षमता अभिवृद्धिमा काम गरिरहेको बताइन्।् ।
उनले यूके र ईयूले पश्चिमा देशहरूले ऊर्जाका लागि रुसमा भर पर्ने कुरालाई कम गर्न प्रयास गरिरहेको प्रष्ट पारेकी छन् । उनका अनुसार यदि रुसले युक्रेनमाथि हमला गरे जर्मनी र रुसबीच रहेको नोर्ड स्ट्रिम–२ ग्यास पाइपलाइन एउटा समस्या हुन सक्ने बताएकी छन् । उक्त विषयमा उनले जर्मनीका नयाँ विदेशमन्त्रीसँग जी–सेभेन बैठकमा कुराकानी गर्ने बताइएको छ ।
प्रतिक्रिया