कांग्रेस १४औं महाधिवेशन : उम्मेद्वारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेद्वारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मंसिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ ।
यसैगरी उम्मेद्वारको अन्तिम नामावली प्रकाशन आजै दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ । यसअघि शनिबार उम्मेद्वार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो ।
उम्मेद्वारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेद्वारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।
महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेद्वारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि उम्मेद्वारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेद्वारी मनोनयन पत्र दर्ता भएको थियो । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेद्वारी मनोनयन समयावधि तोकिएको थियो ।
निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ । उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । यसैगरी महामन्त्रीमा डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेद्वारी परेको छ ।
सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेद्वारी मनोनयन गरेका निर्वाचन समितिले जनाएको छ । त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसंख्यामा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेद्वारी परेको छ ।
यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । रासस

प्रतिक्रिया