कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदार झिनो मतले पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना सकिएको छ । उपसभापतिमा शेरबहादुर देउवा प्यानलबाट पूर्णबहादुर खड्का र डा. शेखर कोइराला प्यानलबाट धनराज गुरुङ निर्वाचित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझदेखि मतगणना सुरु भएको थियो भने मतपरिणाम मध्यरातमा आएको हो ।
उपसभापतिका उम्मेद्वार खड्का र गुरुङ निर्वाचित भएपछि अर्का उम्मेदवार विजयकुमार गच्छदार भने झिनो मतान्तरले पराजित भएका छन् । गच्छदार देउवा प्यानलबाट उपसभापतिमा उम्मेद्वार बनेका थिए ।
उपसभापतिमा चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाहले पनि उम्मेद्वारी दिएका थिए । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार खड्काले १,९०१ मत र गुरुङले १,७४१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पराजित गच्छदारले भने १,७२५ प्राप्त गरेका छन् । यस्तै भण्डारीले १,४६५, कोइरालाले ४३८, आचार्यले ४१३ र शाहले ११७ मत प्राप्त गरेको समितिले जनाएको छ ।

महाधिवेशनअन्तर्गत कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।
सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।
अब अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया