राष्ट्र बैंकद्वारा एक सय ७६ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज

नेपालखोज २०७८ पुष १ गते १२:४३

काठमाडौं । एक सय ७६ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराए पश्चात २०७८ कात्तिक मसान्तसम्ममा दुई सय ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तीमा सामेल भएका छन् ।

यसरी ठुलो संख्यामा संस्थाहरु मर्जर तथा प्राप्तीमा सामेल भई ६१ वटा संस्था कायम भएकाले एक सय ७६ वटा संस्थाहरुको इजाजत खारेज गरिएको हो, राष्ट्र बैकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार सातवटा प्रदेश अन्र्तगत ७७ वटा जिल्लामा रहेका सात सय ५३ स्थानीय तहहरु मध्ये चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्ममा सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

२०७७ कात्तिकसम्म सात सय ४८ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । चालुु अबको कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने एक सय २९ वटामा सीमित भएको छ ।

सोमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ६८३ रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ हजार एक सय २७ पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार आठ सय ४३, विकास बैंकहरुको कुल शाखा संख्या एक हजार ४९, फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या दुई सय ४४ र लघुवित्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या चार हजार नौ सय ९१ पुगेको छ ।

प्रतिक्रिया