रक्षामन्त्रीबाट राजीनामा दिएका रिजालले भने- राजनीतिबाटै अलग हुन सक्छु

काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिएका कांग्रेस नेता डा मीनेन्द्र रिजालले राजनीतिबाट नै अलग हुन सक्ने बताएका छन् ।
आज पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले के गर्ने अब भन्ने आफूले नसोचेको बताए । राजनीतिबाट तत्काल अलग हुने निर्णय नगरे पनि सम्भावना भने रहेको उनको भनाई छ । उनले राजीनामा सोचेर सम्झेर दिएको स्पष्ट पारे ।
अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए । ‘म सार्वजनिक जीवनमा नै हुन्छु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ, म के गर्छु सल्लाह गरौँला,– उनले पत्रकारहरुलाई भने ।’
उनले लामो राजनीतिक जिवनबाट आर्जन गरेको सम्पत्ति “राजनीतिक पूँजी” बचाईराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पारे । उनले भावावेशमा नभई राजनीतिक सम्पत्ति गुमाएँ कि भन्ने लागेर आफुले राजीनामा गरेको बताए । आफू राजनीतिमा हारेको वा थाकेको सिपाही नभई दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि उनले बताए ।
उनले पार्टीले चित्त बुझ्दो जिम्मेबारी नदिए राजनीतिबाटै अलग हुन सक्ने संकेत गरे । संचारकर्मीको जिज्ञासामा उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णयमा आफु पुगिनसकेको भएपनि त्यो सम्भावनालाई पनि नकार्ने बताए ।
आफुले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उनले स्पष्ट पारे । महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा पराजित हुनुपरेपनि आफु भन्दा सक्षम र सबैले पत्याएको मान्छे छोडेर जानेमा आफु ढुक्क भएको भन्दै उनले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताए । मन्त्री रिजालले आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

प्रतिक्रिया