आइतबार, जेठ ६, २०८१

त्यो चाइनिज फिल्म, जसले २०२१ मा हलिउडलाई समेत पछाडि पार्‍यो

नेपालखोज २०७८ पुष २ गते १७:२४

काठमाडौं । संसारमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको कुरा गर्दा हरेक वर्ष अमेरिकी चलचित्र नै अगाडि आउने गरेका छन् । यद्यपि २०२१ मा यो परम्परा टुटेको छ किनभने यो वर्ष सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र हलिउडको होइन ।

२०२१ को सबैभन्दा सफल अथवा कमाउ चलचित्र हो ‘द ब्याटल एट लेक च्यागजिन’ र यो एउटा चाइनिज चलचित्र हो । भनिन्छ चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयअनुसार निर्माण भएको यो चलचित्र चीनमा निर्मित अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र हो । यो चलचित्रको कुल निर्माण खर्च २०० मिलियन डलर (साढे २४ अर्ब नेपाली रुपैयाँ) भएको बताइएको छ । अहिलेसम्म यो चलचित्रले एक लाख ७० हजार करोड रुपैयाँ कमाइसकेको छ । यो चलचित्रका तीनजना निर्देशक छन्- चेन काइगे, डेन्टे ल्याम तथा सुई हार्क । उ जिङ तथा ज्याक्सन ली ले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रलाई मनोरञ्जक वा उद्देश्यपूर्णभन्दा पनि प्रोपोगोन्डा फैलाउने चलचित्रको श्रेणीमा राखिएको छ ।

यो चलचित्रमा कोरियाली युद्धका दौरान भएको चिनियाँ आर्मी र अमेरिकन फोर्सबीचको लडाइँ देखाइएको छ । यो युद्धलाई मानिसहरु द ब्याटल एट लेक च्यागजिन नामले पनि चिन्छन् । यो चलचित्रमा चिनियाँ सेनाले अमेरिकी सेनालाई हराएको देखाइएको छ जबकि इतिहासले यथार्थ त्यसको ठीक उल्टो भएको बताउँदै आएको छ ।

संसारभरका ठूला-ठूला सञ्चारमाध्यमहरुले यो चलचित्रको समीक्षामा यसमा देखाइएको ‘फिक्सनल’ युद्धको खुलेर आलोचना गरेका छन् । बेलायतको ‘द गार्जियन’ को समीक्षामा भनिएको छ- चिनियाँ सरकारद्वारा निर्मित यो चलचित्रमा चिनियाँ सैनिकलाई मोरल्ली सुपिरियर देखाउन कुनै कसर छोडिएको छैन । ‘द हलिउड रिपोर्टर’ की समीक्षक एलिजाबेथ केरर लेख्छिन्, ‘त्यसो त ऐतिहासिक युद्धमा आधारित धेरैजसो चलचित्रमा ऐतिहासिक तथ्य कम, प्रोपोगोन्डा नै बढी हुन्छ । यद्यपि यो चलचित्रमा यो कुरालाई धेरै नै बढी बढाइ-चढाइ प्रस्तुत गरिएको छ ।’

चीन हलिउड चलचित्रको निकै ठूलो बजारका रुपमा रहँदै आएको छ । मार्बल-डीसीजस्ता ठूला ब्यानरका कतिपय चलचित्र अमेरिकाभन्दा पहिले चीनमा प्रदर्शन गरिन्थ्यो ताकि चलचित्रले राम्रो बुस्ट पाओस् । यद्यपि पछिल्लो समय अमेरिका र चीनबीच बढ्दो राजनीतिक मतभेदका कारण २०१९ देखि नै कुनै पनि हलिउड चलचित्र चीनमा प्रदर्शन हुन सकेको छैन ।

चीनमा प्रदर्शित अन्तिम अमेरिकी चलचित्र मार्बलको ‘स्पाइडरम्यान : फर फ्रम होम’ हो । मार्बलले चिनियाँ बजारलाई ध्यानमा राखेर निर्माण गरेको चलचित्र ‘शैङ ची-द लिजेन्ड अफ द टेन रिंग्स’ समेत चीनका सिनेमा घरहरुमा प्रदर्शन हुन सकेन । पश्चिमा मिडियाको कुरा मान्ने हो भने चाइनिज सेन्सरसिप तथा अनेकन नियम-कानुनको पेंच लगाएर अमेरिकी चलचित्रलाई चीनमा प्रदर्शन हुन दिइएको छैन ।

कमाइ कै दृष्टिले हेर्ने हो भने एक नम्बरमा मात्र होइन दुई नम्बरमा पनि चिनियाँ चलचित्र नै छ । २०२१ मा सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीको दोस्रो नम्बरमा पर्न सफल अर्को चिनियाँ चलचित्र हो- ‘हाई मम’ । यो चलचित्रले अहिलेसम्म एक हजार करोडभन्दा बढी कमाइ गरिसकेको छ । अमेरिकि चलचित्र ‘नो टाइम टु डाई’ ७ सय ५८ डलर आम्दानीका साथ तेस्रो स्थानमा छ । यो अमेरिकी चलचित्रले पहिलो नम्बरको चिनियाँ चलचित्र भन्दा एक सय २० लाख डलर कम कमाइ गरेको छ । पहिलो र तेस्रो सर्वाधिक कमाइ गर्ने चलचित्रबीचको यति ठूलो फरक पनि आफैंमा आश्चर्यजनक छ ।

प्रतिक्रिया