बिहीबार, जेठ ३, २०८१

मृत्यु : आधा हत्या र आधा आत्महत्या !

सुनील सापकोटा २०७८ पुष ५ गते ९:२७

कुनै पनि आत्महत्यालाई विचार गरेर हेर्ने हो भने त्यसको पछाडि (मान्छे मर्ने कारण) पुरा समाज हुन्छ । यद्यपि यसमा दोष चाहिँ आत्महत्या गर्ने मानिसक‍ो मात्र देखिन्छ र समाज चाहिँ जोगिन्छ । समाजले हरेक आत्महत्यालाई कायरता र घटिया कामको संज्ञा दिएर आफू जोगिएको पाइन्छ ।

हाम्रा कानुन, हाम्रा सामाजिक मूल्य मान्यता, हाम्रा धर्म-संस्कृति, हाम्रा सफलता र असफलताहरू अनि हाम्रै सामाजिक मापदण्डमा फँसेर हामी आत्महत्या गर्न बाध्य भैरहेका हुन्छौं।

आत्महत्या गर्ने कतिपय मानिसलाई मैले नजिकबाट देखेको छु । तिनीहरूले पर्याप्त खानलाउन पाउँदा पाउँदै, बस्ने घर र स्वस्थ शरीर हुँदाहुँदै पनि आत्महत्या गरेका थिए । कारण स्पष्ट छ । तिनीहरूको जीवन सिमित मात्र थिएन । तिनीहरुमा एउटा सपना पनि थियो । जीवनमा एउटा उडान पनि हुनुपर्छ, जसमा ती उड्न चाहन्थे तर त्यो पुरा हुन सकेन । आफ्नो सपनामा बाँच्नु जीवन हो र त्यसमा चालिने हरेक कदमले हामीलाई तृप्ति दिइरहेको हुन्छ । त्यो पूरा हुन सकेन भने मानिस मर्न चाहन्छ ।

आज समाजमा जतिपनि आत्महत्या भइरहेका छन् त्यसमा प्रतिस्पर्धाको ठूलो भूमिका छ । आज यहाँ हरेक व्यक्तिको दोस्रो व्यक्तिसँग प्रतिस्पर्धा छ । रिक्सावाला अटोवालासँगको प्रतिस्पर्धामा छ । नाङ्गलो पसले सटरवाला सँग, रिटेलर होलसेलरसँग र होलसेलर डिस्ट्रीब्युटरसँग । मजदुर ठेकेदारसँग, पियन खरदारसँग र खरदार सुब्बासँग अनि सुब्बा सेक्सन अफिसरसँग । त्यस्तै गरिव धनीलाई देखेर डिप्रेसनमा आउँछ ।

हामी कहाँ प्रत्येक वर्ष अनेकौं केटाकेटीहरू परिक्षामा फेल भएर वा कम नम्बर आएर हिन भावनाले ग्रस्त भइ आत्महत्या गरिरहेका हुन्छन् । जसमा मूल दोष आत्महत्या गर्ने ति केटाकेटीका आमा-बाबुको छ । उनीहरूले आफ्ना केटाकेटीलाई पढाइमा राम्रो परफरमेन्सका लागि सधैं प्रेसर दिइरहेका हुन्छन् । ती बाबुआमा नै ती आत्महत्या गर्ने केटाकेटीका हत्यारा हुन् ।

यहाँ हरेक व्यक्ति महत्त्वपूर्ण छ । यो दुनियाँमा हरेक फूल आफ्नै तरिकाले फुलिरहेको-मुस्कुराइरहेको हुन्छन् । यद्यपि हाम्रो तुलनाको ज्वालाले तिनीहरूलाई भस्मीभूत गर्छ । किनभने हामी हाम्रा हरेक सन्तानबाट सफलताको अपेक्षा गर्छौं । उसलाई हामी स्वतन्त्र भएर आफू खुसी बाँच्न दिदैनौं ।

वृक्ष हुनु मात्र जीवन होइन । फूल फूल्नु र फल लाग्नु जीवन हो । भावनाहरू, संवेदनाहरू मर्नु भनेको जिजीविषा मर्नु हो । एउटा शिशुले जब जन्म लिन्छ त्यो बेला उसमा पूरा जीवन हुन्छ । उसमा प्रेम र संवेदना सबै हुन्छ तर जसो-जसो उ ठूलो हुँदै जान्छ, सबैभन्दा पहिले हामीले उसको स्वतन्त्रता मार्छौं । त्यसपछि उसको स्वभावलाई मार्छौं । त्यसपछि उसको आकांक्षाहरूलाई मार्दै अन्त्यमा उसका भावना अनि संवेदनाहरूलाई मार्छौं ।

त्यस्तै प्रकारले अठार-बीसको उमेर आउँदा नआउँदै हामीले त्यो बच्चाको हत्या गरिसकेको हुन्छौं अरु बाँकी उ स्वयंले पछि आएर गर्छ ।
आखिर हामी सबैको मृत्यु आधा हत्या र आधा आत्महत्या नै हो ।

प्रतिक्रिया