सोमबार, जेठ ७, २०८१

स्वदेशी माछा दानाले बजार पाएन

नेपालखोज २०७८ पुष ५ गते ९:१०

चितवन । यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए ।

उनले भने, ‘लागत मूल्य बढी पर्दा बजार पाउन सकेन ।’ नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उनको भनाइ छ ।

माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उनले दुखेसो गरे । उनले भने, ‘बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन ।’

गत वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले हालसम्म करिब ४ सय टन दाना बिक्री गरेको उनले बताए । बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो ।

नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत रु एक करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी १८ करोडको लगानीमा निर्माण गरिएको हो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताउनुभयो । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन् ।

प्रतिक्रिया