आइतबार, जेठ ५, २०८२

प्रमुख चुनौती भोकमरी, अफगानिस्तानका लाखौं बालबालिकामा कुपोषण

नेपालखोज २०७८ पुष ५ गते १४:०९

काबुल । अफगानिस्तानमा भोकमरीको समस्या प्रमुख चुनौतीका रुपमा देखिएको छ । पाँच महिनादेखि अफगानिस्तानमा १० लाख बालबालिकाहरू भोकमरीको जोखिममा छन् । लामो समयदेखिको तालिवान सशस्त्र विद्रोहको अन्त्य भए पनि भोकमरी जस्ताको तस्तै छ । तालिबानले शासन सुरु गरेको चार महिना भइसकेको छ । तर देशमा भोकमरीको समस्या पहिलेभन्दा झन् बढ्दै गएको छ ।

अफगानिस्तानमा खान नपाएर कुपोणबाट पीडित बालबालिकाका आमाले सरकारबाट पौष्टिक आहारको आशा गरिरहेका छन् । अहिले त्यहाँको अर्थतन्त्र धराशयी बन्दै गएको छ । चिकित्सा प्रणालीले कोभिडसँग लड्न नसकिरहेको अवस्था छ । घोर प्रान्तको एक अस्पतालमा बिरामी र कुपोषण भएका बालबालिकाहरूलाई औषधि र पौष्टिक खानेकुराको निकै अभाव भएको समाचारले चर्चा पनि पाएको छ ।

अफगानिस्तानका बासिन्दाले बिमार लागेको बेला औषधि किन्न समेत नपाएको गुनासो गरेका छन् । उनीहरु भन्छन्, ‘हामीसँग औषधि छैन, हामीले किन सहयोग नपाएको होला !’

जब तालिबानहरू शासनमा आए, अधिकांश अन्तर्राष्ट्रिय सहयोगहरू बन्द गरिएको छ । अन्नको उत्पादन एकदमै कम हुने अफगानिस्तानका जनता अन्तर्राष्ट्रिय सहयोगको भरमा निर्भर हुँदै आएका थिए ।

महँगी र बेरोजगार अहिले त्यहाँको प्रमुख समस्या हो । अर्थतन्त्र क्रमशः पतन हुँदै गएको छ । धेरै परिवारहरू कमाउनभन्दा पेटका लागि मात्रै संघर्ष गरिरहेका छन् । यहाँसम्म कि बच्चा जन्मिने बेलामा अस्पताल लानु त के कुरा, बिरामी भइहाले सस्तो औषिधि किन्ने पैसा आमाबाबुसँग हुँदैन ।

अफगानिस्तानको प्रान्त घोरमा सबैभन्दा बढी भोकमरी छ । यहाँ प्रायः खडेरी लाग्नाले अन्न उत्पादन नहुँदा किसानलाई एकछाक खान पनि समस्या छ । बिरामी भइहाले पनि यस विकट ठाउँका मानिसहरू अस्पताल पुग्न १० घण्टासम्म लाग्छ ।

पछिल्लो समय तालिबानले सत्ता हातमा लिएपछि अस्पतालका डाक्टर र नर्सले पाँच महिनामा बल्ल केही तलब पाएको अवस्था छ । सर्वसाधारणका साथै सरकारी कर्मचारीमा पनि समयमा तलब नआउँदा खानको समस्या हुने गरेको छ ।

अफगानिस्तानका चिकित्सकहरू अहिले आफूहरू पीडामा भएको बताउँछन् । चिकित्सकहरू भन्छन्, ‘यहाँका मानिस भोकमरीसँग मात्रै लडेका छैनन्, जाडोसँगै निमोनियाँका बिरामी बढेका छन्, औषधि गर्ने पैसा छैन ।’ ग्रामीण भेकमा अधिकांशसँग न्यानो कपडा छैन ।

प्रतिक्रिया