रेमिट्यान्स घट्दै जानु सुखद पक्ष नभएको अर्थविद्को ठहर

काठमाडौं । विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह घट्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार विगत चार महिनाको अवधिमा नेपाल भित्रिने रेमिट्यान्स लगातार घटिरहेको पाइएको हो ।
गत साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स असोजमा करिब ८ प्रतिशतले र कातिकमा ७ दशमलव ५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो । साउनदेखि कातिकको अवधिमा रेमिट्यान्सबापत तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।
विदेशबाट अनौपचारिक च्यानलमार्फत पैसा पठाउनु रेमिट्यान्समा कमी आउनुको एउटा कारण हुनसक्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताएका छन् ।अनौपचारिक च्यानलबाट रकम पठाइनु, न्यून बीजकीकरण र पुँजी पलायन तीनवटा कमजोरीका कारण रेमिट्यान्स घटेको अर्थविद् पोषराज पाण्डेको बुझाइ छ ।
रेमिट्यान्सलाई लिएर अहिले नै चिन्ता गर्नुपर्ने अवस्था नआएको राष्ट्र बैंकका अधिकारीहरूको तर्क छ । सङ्क्रमण दर केही मत्थर भएसँगै पछिल्लो समय कामदारको माग बढेकोले पनि यो स्थति लम्बिन नसक्ने अधिकारीहरूको विश्वास छ ।
तर अर्थविद् आचार्यले तीन–चार महिनाकै अवधिमा एक अर्ब डलरसम्म रेमिट्यान्स घट्नु नेपालका लागि सुखद नहुने जनाउँछन् । विप्रेषण आप्रवाह घट्दा त्यसको प्रत्यक्ष असर भुक्तानी सन्तुलन र कुल विदेशी विनिमय सञ्चितिमा पर्ने अर्थ सचिव खनाल बताउँछन्।बीबीसी
प्रतिक्रिया