‘संसद अवरुद्ध पारेर एमालेले संसदीय नियमविपरीत काम गर्यो’

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराएका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरे ।
सभामुख सापकोटोले आफ्ना असहमतिका विषय संसदमै राखेर अघि बढन पटकपटक आग्रह गरे । उनले राष्ट्रहितको कैयन विषयमा आवश्यक निर्णय गरेर अघि बढाउनुपर्ने संसद अवरुद्ध पारेर एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको जनाएका छन् ।
सभामुख सापकोटाले नागरिकता, संघीय निजामती कर्मचारी ऐनलगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि संसदलाई सूचारु गरेर अघि बढनुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया