विवाह नगर्ने युवायुवती !

काठमाडौं । हिन्दु संस्कृतिमा विवाहलाई सात जन्मसम्मको एक बन्धनका रुपमा लिने गरिन्छ । यसलाई परिवारको एक खम्बाका रुपमा पनि लिइन्छ । वंश वृद्धि गर्न, परिवारका सदस्यमा खुसी साटासाट गर्न मानिसहरू विवाह बन्धनमा बाँधिने गर्छन् । विश्वमा दैनिक विवाह कति हुन्छ भन्ने केही तथ्यांकहरू पनि सार्वजनिक हुने गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतमा हरेक घण्टा २७ हजार युवायुवती विवाह बन्धनमा बाँधिने गर्छन् । हरेक महिना ८ लाखको विवाह हुने गर्छ भने एक वर्षमा ९६ लाखबढीको विवाह हुने गर्छ । यस्तै विश्वका विभिन्न देशमा विवाह हुने तथ्यांक आफ्नै किसिमको छ । केही वर्ष अघिसम्म विश्वमा विवाह हुने दर बढ्दो रुपमा पाइएको थियो । तर पछिल्लो समय भने विवाह गर्ने प्रतिशत घट्दो रुपमा छ ।
विवाहप्रति यु्वायुवतीको मोह भंग भएको अमेरिकाको पीयू रिसर्च सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । यस रिसर्च सेन्टरले अमेरिकी कम्युनिटी सर्भेको आधार बनाएर यो दाबी गरेको छ कि, अमेरिकामा अब अधिकांश पुरुष विवाह गर्न चाहँदैनन् । यहाँ २५ देखि ५४ वर्ष उमेर समूहका ३८ प्रतिशत पुरुष अविवाहित छन् । उनीहरू विवाह गर्ने मनस्थितिमा नभएको रिसर्च सेन्टरको ठम्याइ छ ।
यस्तै ४० देखि ५४ वर्षका २० प्रतिशत पुरुष अमेरिकमा अविवाहित छन् । उनीहरू अधिकांश आमाबुबाको साथमा बस्ने गरेको खुलेको छ । सन् १९९० को तथ्यांक हेर्दा अमेरिकामा अविवाहित पुरुषको संख्या २९ प्रतिशत थियो । पछिल्लो ३० वर्षमा विवाह नगर्ने महिलाको तुलनामा पुरुषको संख्या तीव्र रुपमा बढेको छ ।
सन् २०२० मा विवाहसम्बन्धी एक सर्भे भारतमा पनि भएको थियो । जसमा २६ देखि ४० वर्ष उमेरका ४२ प्रतिशत युवाले आफूहरू विवाह नगर्ने बताएका थिए । उनीहरूले बालबालिकाको जिम्मेवारी पनि पूरा नगर्ने बताएका थिए । भारतमा विवाह नगरी बस्ने पुरुष र महिलाको संख्या लगभग बराबरी छ ।
अधिकांश युवायुवतीले विवाह नगर्नुका पछाडि प्रमुख कारण आर्थिक रहेको छ । अर्को पक्ष वैवाहिक जीवनभन्दा एकल जीवन ठीक लाग्ने सोच रहेको अनुसन्धानहरूले देखाएका छन् । नेपाल र भारतका केही कम संख्याका युवाहरु धार्मिक भावनामा बहकिएर पनि विवाह नगर्ने गरेका छन् ।
अमेरिकामा गरिएको अनुसन्धानले कम पढेका, कम तलबवाला रोजगार भएका, पारिवारिक आर्थिक अवस्था कमजोर भएका अधिकांश युवायुवतीहरूले विवाह नगरेको जनाएको छ । अमेरिकामा राम्रो रोजगार, व्यवसाय तथा आम्दानी भएका बाबुआमाका छोराछोरीले मात्रै चाँडै विवाह गर्ने गरेका छन् ।
खराब आर्थिक स्थिति, सम्बन्धमा दबाब झेल्नुपर्ने डर र सही जीवन साथी नपाउनुलगायत कारणले पनि अधिकांश युवायुवतीले आजीवन एक्लै बस्नु पर्ने अवस्था सिर्जना भएको छ । अमेरिकाजस्तै भारत र नेपालका युवाको पनि अवस्था छ । भारतमा प्रतिमहिना १० हजार भारतीय रुपैयाँ कमाउने ३९ प्रतिशत युवाले विवाह गर्न नचाहेको तथ्यांकले देखाएको छ । यस्तै महिनामा ६० हजार कमाइ हुने २१ प्रतिशत युवाले पनि विवाह गर्न नचाहेको अनुसन्धानले देखाएको छ ।
हजारौं वर्षपहिले मानव सभ्यता सुरुवाती चरणमा भएका बेला मानिसहरू सिकार गरेर, जंगली फलफूल र कन्दमूल खाएर जीवनयापन गर्ने गर्थे । तर समयको विकास क्रमसँगै मानिसहरू रोजगार तथा व्यवसाय गर्न परिवारबाट टाढा हुन थाले ।
महिलाले भने १९ औं शताब्दीको सुरुवातदेखि मात्रै बाहिरको काम गर्न थालेका बताइन्छ । १९औं शताब्दी पहिले अधिकांश देशमा महिलालाई बाहिरको काममा जान अनुमति पनि थिएन । पुरुषबराबर अधिकार पनि दिइएको थिएन ।
महिलालाई १९औँ शताब्दीअघि मतदान गर्ने अधिकार पनि थिएन । अहिले धेरै अधिकार दिइएको छ । तर जिम्मेवारीपन पुरुषको काँधमा हालिदिने विश्वकै समाज छ । पितृसत्तात्मक विश्वमा आफ्नो काँधमा आउने जिम्मेवारी पूरा गर्न समस्या हुने देखेपछि विकल्पमा पुरुषले विवाह नगर्ने निधो गर्ने अमेरिकाको पीयू रिसर्च सेन्टरको निष्कर्ष छ ।
केही वर्षपहिले अमेरिकामा पीयू रिसर्च सेन्टरले नै गरेको अनुसन्धानमा ५० प्रतिशत युवायुवतीले आफ्नो करियरमा धेरै ध्यान दिने गरेका छन् । करियरमा ध्यान दिँदा विवाह गर्ने उमेर घर्किंदै गएकाले मन भंग हुँदै गएको निष्कर्ष निकालिएको छ । उक्त अनुसन्धानमा ४६ प्रतिशतले विवाह अति नै जरुरी विषय भएको बताएका थिए । ४ प्रतिशतले विवाहसम्बन्धी कुनै पनि प्रतिक्रिया दिएनन् ।
जब स्त्री र पुरुष विवाह बन्धनमा बाँधिन्छन्, अनि पारिवारिक रमझम सुरु हुन्छ । परिवारमा सन्तानको पनि विस्तार हुन्छ । समाजशास्त्रमा विवाहलाई समाजको एक प्रमुख अंगका रुपमा लिने गरिन्छ ।
विवाहको सुरुवातको सम्बन्धमा विभिन्न सामाजिक तथा धार्मिक मान्यता छन् । विवाहको सुरुवात ईसापूर्व २३५० मा मेसोपोटामियाबाट भएको विश्वास गरिन्छ । यसको उद्देश्य परिवारको सही उत्तराधिकारी तयार गर्नुपर्छ भन्ने सोचबाट भएको हो ।
विवाह विस्तारै उत्तराधिकारीको खोजी गर्दै जाने क्रममा परिवारको पनि आधार बनेको छ । परिवारवाट समुदाय, समाज हुँदै राष्ट्रका रुपमा विकास भएको छ । तर उद्विकासका रुपमा विकास हुँदै गएर समाजमा महत्त्वपूर्ण स्थान बनाएको विवाहलाई युवायुवतीहरू कम महत्त्वको मान्न थालेका छन् । यसबाट विकास भइसकेको समाजमा केही विचलन आउने समाजशास्त्रीहरू बताउँछन् । करियर बनाएर अघि बढ्ने चाहना, आर्थिक समस्याका कारण सम्ब न्धमा आउने उत्तरचढाव पनि युवनायुवतीको विवाह गर्ने मनसाय भंग हुने प्रमुख कारण हो ।
अनुसन्धानमूलक संस्था एनसीआरबीका अनुसार भारतमा कुल आत्महत्या गर्नेमध्ये ४० प्रतिशतले सम्बन्धमा आउने उतरचढावका कारण हो । खराब सम्वन्ध हुने प्रमुख कारण कमजोर आर्थिक अवस्था वा रोजगारीलाई लिइएको छ । यस्तै घटनाको मनोवैज्ञानिक असर परेर पनि कमजोर आर्थिक अवस्था हुने युवायुवतीमा विवाह हुने सोच नआएको देखिन्छ ।
भारतमा सन् २०१६ मा आत्महत्या गर्नेमध्ये २९ प्रतिशत मानिसले पारिवारिक समस्याको कारणले गरेको खुलेको छ । आत्महमत्या गर्नेमा ५ प्रतिशत भने आफ्नो वैवाहिक जीवनबाट वाक्क भएर थिए । भारतमा प्रेम सम्बन्धको कारण आत्महत्या गर्ने ३ दशमलव ५ प्रतिशत छन् ।
विवाह गर्न युवायुवतीको रुचि कम हुनाका प्रमुख तीन कारण छन् । पहिलो, पारिवारिक जिम्मेवारीको चिन्ता, दोस्रो पैसा कमाउन नसक्ने डर र तेस्रो प्रेममा असफल हुने आशंका छन् ।
जो युवायुवती उच्च आम्दानी गर्छन्, आर्थिक रुपले सम्पन्न छन्, तर पनि विवाह नगरेका उदाहरण नेपाल, भारतलगायत धेरै देशमा छन् । जुन दम्पत्तिको अथाह सम्पत्ति छ, तर पनि उनीहरू एका-अर्कासँग खुसी छैनन् । यसर्थ, कोही पनि दम्पत्तिको सम्बन्धमा चिसोपन र पारपाचुकेसम्मको अवस्था देखेका त्रासका कारण पनि केही यु्वायुवतीले विवाह नगर्ने सोच बनाएका छन् ।
अन्ततः युवायुवतीले विवाह नगर्नुको प्रमुख कारण एक्लो जीवन नै ठीक भन्ने मानसिकता, विवाहप्रति नकारात्मक सोच, कमजोर आर्थिक अवस्था, पारिवारिक जिम्मेवारीको चिन्ता, दाम्पत्य जीवन अससफल हुने डर मात्रै होइन । सम्बन्धपछि खुसी र स्वतन्त्र हुन सकिँदैन कि भन्ने आशंका पनि हो ।
प्रतिक्रिया