केपी ओलीले आफूलाई अझै प्रतिगमनकारी कित्तामै उभ्याए

नेपालखोज २०७८ पुष ७ गते १७:१३

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै संसद अवरुद्ध गरिरहेको एमालेले अव पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दावी समेत गरे ।

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर् एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे । उनले भने,–‘लोकतन्त्रको मर्म विपरित, संविधानको विपरित त हुँदै हो । उहाँहरुले स्विकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । यसैलाई त उहाँहरुले जनताको बहुदलीय जनवाद भनेर स्विकार गर्नु भएको छ । त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो । बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो । संविधानलाई असफल पार्ने कुरा हो ।’

अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप लगाए । उनले भने,–‘यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो । उहाँहरु अहिले पनि त्यसैमा हुनुहुन्छ । सरकारले अग्रसरता लिने भनेको त उहाँहरुलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ । त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ । जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाई थियो ।’

प्रतिक्रिया