शनिबार, वैशाख १३, २०८२

कतारमा आप्रवासी कामदारको तलब बढ्यो !

नेपालखोज २०७८ पुष ८ गते ११:४९

काठमाडौं । न्यूनतम ज्याला बढेयता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले बढोत्तरी भयो । प्रति महिना एक हजारभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल पुग्यो । खाना बस्नको राम्रो व्यवस्था भए कम्पनीले महिनावारी एक हजार तलब दिने नत्र १८ सय तलब दिनै पर्ने व्यवस्था लागु भयो । कतारको श्रम मन्त्रालयले निकालेको एक रिपोर्टअनुसार, यो व्यवस्था लागु भएपछि एक हजार रियालभन्दा कम तलब पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलब पाउन थालेका थिए ।

कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेबपोर्टल तयार पार्यो । जसमार्फत दुई लाख ४२ हजार ८ सय सत्तरीजनाले कम्पनी परिवर्तन गरी काम सुरु गरेका थिए । मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएको छ कामदारको सहुलियतका लागि कम्पनीले कन्ट्र्याक्ट समाप्त भएको सूचनादेखि नयाँ भर्तीसम्मका सबै सूचना अनलाइनमार्फत नै दिइएको थियो । अनलाइन फाराम भरेर कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।

आगामी वर्ष २०२२ को नोभेम्बर डिसेम्बरमा फुटबल खेलको महामेला आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आईएलओको अफिस राजधानी दोहामा राख्न दिएसँगै काम गर्न थालेको हो । हुन त आईएलओको अफिस खुल्नुअघनि नै कतारले आप्रवासी कामदारसम्बन्धी नीति-नियममा परिमार्जन गर्न थालिसकेको थियो । आईएलओसँगको सहकार्यपछि भने कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्यमध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ ।

कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्ट भन्छ- कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । उनीहरूका लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ । घरेलु कामदारलाई अन्य कामदारझैं व्यवहार गर्ने, सेवा-सुविधा प्रदान गर्ने, आराम तथा बसोबासको व्यवस्था गर्नेलगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्न सक्ने अधिकार कतार सरकारले प्रदान गरेको छ । कतारी श्रम कानुनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउन छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवश्थामा रहेकाहरू लागि सेल्टरको व्यवस्था गरिएको छ ।

कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । कतारमै झन्डै चार लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया