सोमबार, वैशाख १७, २०८१

गरिबसँग केही छैन, धनीसँग धनै-धन !

नेपालखोज २०७८ पुष ९ गते १०:४३

काठमाडौं । संसारको आर्थिक असमानतासँग सम्बन्धित एक अन्तर्राष्ट्रिय रिपोर्टले हाम्रो पृथ्वीमा धनको असमान वितरणलाई चित्रित गर्छ । २०२२ का लागि जारी यो रिपोर्टले संसारका धनीहरु कस्ता छन् त्यसको झलक पनि दिन्छ ।

यो रिपोर्टअनुसार धनीहरुसँग भएको ४० देखि ६० प्रतिशत सम्पत्ति वित्तीय एसेट्सका रूपमा विद्यमान छ । ३० देखि ४० प्रतिशत जति सम्पत्ति हाउजिङ एसेट्सका रुपमा उनीहरुको कुल सम्पत्तिमा जोडिएको छ । उनीहरुको ५ देखि १० प्रतिशत सम्पत्ति व्यापारिक हिस्सेदारीमा छ । धनीहरुको आयको ठूलो भाग विलासी सामान र रवाफमा खर्च हुने गरेको छ ।

संसारमा सबैभन्दा धेरै धनी पूर्वी एसियामा बसोबास गर्छन् । त्यहाँ संसारका ३४ प्रतिशत जति धनी बस्छन् । संसारका सर्वाधिक धनीमध्ये युरोपमा २१ प्रतिशत तथा उत्तर अमेरिकामा १८ प्रतिशत धनी छन् । सबैभन्दा कम धनी भएको क्षेत्र उप-सहारा अफ्रिका हो जहाँ संसारका एक प्रतिशतजति मात्र सर्वाधिक धनीको बसोबास छ ।

औसत आयमा फरक
संसारको प्रतिव्यक्ति औसत आय ७२ हजार ९१३ युरो छ अर्थात् संसारका प्रत्येक मानिसले वर्षमा सरदर एक करोडको हाराहारीमा कमाउँछन् । यता संसारमा सर्वाधिक कमाइ गर्ने एक प्रतिशत मानिसको औसत वार्षिक आय करिब ५० करोड रुपैयाँ छ । यसैगरी नेपालको वार्षिक प्रतिव्यक्ति आय सरदर एक हजार डलर अर्थात् एक लाख २२ हजार रुपैयाँ भएको बताइएको छ ।

संसारको कुल धनको ६ प्रतिशत भाग शून्य दशमलव एक प्रतिशत मानिसमा एकोहोरिएको छ । यिनीहरुको संख्या करिब ५५ हजार २०० छ । यी धनीहरुसँग संसारका आममानिसको तुलनामा ६ हजार गुणा बढी सम्पत्ति छ ।

गरिबहरुसँग सम्पत्तिका रूपमा केही नगद वा बैंक खातामा भएको केही डिपोजिट मात्र हुन्छ । यदि कसैसँग केही घर-जग्गा छ भने पनि त्यसको मूल्य निकै कम हुन्छ । मध्यमवर्गसँग भने बैंक डिपोजिटका अतिरिक्त घर पनि हुन्छ भने उनीहरुले केही सेयर आदिमा पनि लगानी गरेका हुन्छन् ।

प्रतिक्रिया