‘एमसीसी राष्ट्रघाती छैन, सित्तैमा आउने पैसा लिन्न भन्न मिल्दैन’

नेपालखोज २०७८ पुष ११ गते १९:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन् । आईतवार नेकपा (माओवादी केन्द्र) को ८औं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् ।

उनले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताए । प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताबिरुद्ध नजाने बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरे । उनले गठबन्धन कसैको विरुद्धमा नबनाइएको भन्दै संसद् र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैकोविरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ, यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो । गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु, ओलीजीहरुलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे, आफूले त मिल्न पाइन्छ नि ।’

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै अगुवाईमा संविधानसभाको चुनाव भएको स्मरण गराए ।

प्रतिक्रिया