प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : शीतल निवासमा ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आईतवार शीतलनिवासमा ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गरेकी हुन् ।
उनले नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा आजभोलि परिवार र समाजमा विभिन्न समस्याहरु उत्पन्न भइरहेको बताइन् । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकहरुले अवहेलना र दुव्र्यवहार व्यहोर्नु परेको भन्दै ज्येष्ठ नागरिकहरुलाई आघात पु¥याउने यस प्रकारका प्रवृत्तिहरुलाई निरुत्साहीत गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गरिन् ।

उनले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको र कानुनी र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार प्रदान हुने बताइन् ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान गरेकोमा खुशी प्रकट गर्दै यो नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा स्मरण गरिने बताए । उनले नेपाल सानो मुलुक भएपनि यहाँको परम्परा रितिस्थिती, धर्म सँस्कृतिलाई सुहाउने गरेर ज्येष्ठनागरिकहरुलाई गरिएको सम्मान नेपालको इतिहासलाई धन्य बनाएको बताए ।

शताब्दीपुरुष जोशीले जीवनलाई सादा जीवन उच्च विचार र सन्तोषमय बनाउनु पर्ने बताए । जीवनलाई सत्यमशिवम बनाउने काम आफ्नो हातमा रहेको भन्दै उनले आफूले आफूलाई चिनेर काम गर्नुपर्ने बताए ।

तस्बिर : रासस

प्रतिक्रिया