नेपाली समाज टेक्सास (एनएसटी) को अध्यक्षमा वाग्ले

नेपालखोज २०७८ पुष १२ गते १६:५६

काठमाडौं । नेपाली समाज टेक्सास (एनएसटी) को नयाँ कार्यसमिति चयन गरिएको छ । डिसेम्बर २६ मा भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षका प्रत्यासी कमल सापकोटालाई २५८ मतान्तरले हराउँदै राजेन्द्र वाग्लेले नेतृत्वमा जित हासिल गरेका हुन् ।

निर्वाचन समितिका अनुसार वाग्लेले ११ सय २० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सापकोटाले ८६२ मत प्राप्त गरे । लामो समयदेखि संस्थालाई योगदान पुर्‍याइरहेका वाग्ले एनएसटी परिवारभित्र लोकप्रिय मानिन्छन् ।

यस्तै उपाध्यक्षमा विजय पौडेलले १०९० मत प्राप्त गर्दै विजयी भएका छन् । अर्का उपाध्यक्षमा जनक भण्डारी ११ सय चार मत ल्याएर विजयी भएका छन् । यस्तै महासचिवमा सन्देश उप्रेती ९९८ मत ल्याएर विजयी भए । यस्तै सह-सचिवमा हरि खनालले ९४४ मत ल्याएर विजयी भए ।

अमेरिकाको ड्यालास-फोर्थवर्थ मेट्रोप्लेक्समा एनएसटीको २०२२-२०२३ को नेतृत्वका लागि वाग्लेले संस्थाको कमान्ड सम्हालेका हुन् । अध्यक्षका अर्का प्रत्यासी सापकोटा मिजासिलो स्वभावका भए पनि एनएसटीमा भने अलि विवादित थिए । सापकोटा २०१५-२०१७ का कार्यसमिति उपाध्यक्षसमेत हुन् ।

टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स नेपाली समुदायको आकर्षणको केन्द्र पनि हो । यहाँ सहज रोजगारी, व्यवसाय सञ्चालनलगायत विशेषताले यो सहर नेपाली माझ आकर्षणको केन्द्र बनेको छ । एनएसटी पनि यही स्थानमा बस्ने नेपालीलाई समेटेर २३ वर्षअघि स्थापना भएको हो ।

प्रतिक्रिया