शुक्रबार, जेठ ४, २०८१

नेपाललाई ‘श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र’प्राप्त

नेपालखोज २०७९ चैत १ गते ८:४५

काठमाडौं । विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ‘गम्भीर श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र’ हस्तान्तरण गरेको छ । उक्त अस्पताल बलम्बुमा रहेको नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा निर्माण गरिएको छ ।

उपचार केन्द्रमा आयोजित कार्यक्रममा डब्लुएचओ दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा . पुनम खेत्रपाल सिंहले जनस्वास्थ्यको आपत्कालीन अवस्थाहरूको लागि पूर्वतयारी र प्रतिकार्य क्षमता बलियो बनाउन उपचार केन्द्रको स्थापना गरिएको बताए । उनले गम्भीर श्वासप्रश्वासको सङ्क्रमण विश्वमै सङ्क्रामक रोगबाट हुने बिमारी र मृत्युको प्रमुख कारण रहेको उल्लेख गर्दै यस स्वास्थ्य संरचनाले श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगका लागि नमूना सिफारिस (रेफरल) उपचार केन्द्रको रूपमा काम गर्नुको साथै बिरामीको सङ्ख्या धेरै हुँदा उपचार र व्यवस्थापनमा सहयोग पुर्याउने बताए भने स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भविष्यमा आउनसक्ने महामारी प्रतिकार्यका बेला यस उपचारकेन्द्र प्रभावकारीरुपमा सञ्चालनका लागि कार्यविधि बनाइने बताए ।

नेपालका लागि डब्लुएचओका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले उपचार केन्द्रले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका बिरामीको उपचार र हेरचाहका लागि नेपालको स्वास्थ्य पूर्वाधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विश्व खाद्य कार्यक्रम नेपालका निर्देशक रोबर्ट कास्काले उपचार केन्द्रमा मध्यम, गम्भीर, जटिल र सघन उपचार चाहिने बिरामीको लागि ९२ वटा शैया उपलब्ध भएको जानकारी गराए । उनले शैयाका साथै भान्साकोठा, भोजन कक्ष, लुगाधुने ठाउँ र फार्मेसीको सुविधासमेत रहेको बताए ।

करिब सात हजार छ सय वर्ग मिटरमा फैलिएको उपचार केन्द्र, दक्षिण–पूर्वी एसिया क्षेत्रमा पहिलो हो । उपचार केन्द्र कोभिड–१९ लगायत श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रामक रोगका सामान्य, मध्यम, गम्भीर र जटिल अवस्थाका बिरामीको उपचारका लागि निर्माण गरिएको हो । श्वासप्रश्वासका बिरामीको उपचार गर्न निर्माण गरिएको यस उपचार केन्द्र सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपायमा आधारित छ ।

यो अस्पतालमा कर्मचारीका लागि छुट्टै स्थान, बिरामीका लागि आउने र जाने छुट्टै बाटो तथा श्वासप्रश्वासबाट हुनसक्ने सङ्क्रमणको फैलावट कम गर्न उचित भेन्टिलेसन र वायु शुद्धीकरण प्रणालीको व्यवस्था गरिएको छ । यो उपचार केन्द्रलाई सामान्य, मध्यम, गम्भीर र जटिल वार्डमा विभाजन गरिएको छ । कोभिड–१९ महामारीका बेला मन्त्रालयले फिल्ड अस्पताल स्थापना गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरेपछि विश्व खाद्य कार्यक्रमको अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट यो उपचार केन्द्र स्थापना गरिएको हो ।

प्रतिक्रिया