बिहीबार, जेठ २, २०८२

कोभिडको मारमा बालबालिका !

नेपालखोज २०७८ पुष १२ गते २०:१७

काठमाडौं । दक्षिण एसियाका सरकारहरूले कोभिड-१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौं बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनमा उल्लेख छ ।

‘दक्षिण एसियामा बालबालिकाका लागि अवसरहरू पुन: उत्पन्न गर्ने’ शीर्षकको उक्त प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले पारेको असमान प्रभावमाथि प्रकाश पारेको छ । प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवाहरूलाई प्रगतिको अवस्थामा फर्काउन नसकेमा कोभिड-१९ महामारीको विनाशकारी प्रभावहरू दशकौंसम्म कायम रहने बताएको छ । मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदुषणजस्ता जलवायुसम्बन्धी जोखिमहरूले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ ।

महामारीभन्दा अघि ठूलो युवा जनसङ्ख्याले विकासलाई थप गति दिएकाले र बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेकाले दक्षिण एसिया विश्वको सबैभन्दा द्रुत वृद्धि हुने क्षेत्रहरूमध्ये एक थियो । बितेको २५ वर्षमा बाल मृत्युदर आधाभन्दा बढी घटेको छ साथै पुड्कोपनाबाट पीडित बालबालिकाको सङ्ख्या पनि सन् २००० पछि एकतिहाइभन्दा बढीले घटेको छ । माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको छ र १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या घटेको छ । त्यसका साथै, ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ ।

प्रतिवेदनले आधारभूत स्वास्थ्य र खोप सेवाहरू पूर्ण रूपमा पुन:स्थापना गर्ने र विद्यार्थीलाई उनीहरूले छुट्टाएका सिकाइहरू प्राप्त गर्न मद्दत गर्ने जस्ता तत्कालका प्राथमिकताहरू पहिचान गर्छ । प्रतिवेदनले, महामारीका कारण हामीले सिकेका पाठहरू र यो परिस्थितिले हाम्रा लागि खोलेका अवसरहरूको रूपरेखा पनि प्रदान गर्छ । यी सिकाइहरूलाई सबै बालबालिकाको हितका लागि प्रयोग गर्न सकिन्छ ।

यी सिकाइहरूमा कोभिड-१९ सँग जुध्न विस्तार गरिएको र सुधारिएको कोल्ड चेन र अक्सिजन जस्ता पूर्वाधारहरूमार्फत सुदृढ गरिएको सार्वजनिक स्वास्थ्य प्रणालीहरू समावेश छन् । अन्य अवसरहरूमा, मानसिक स्वास्थ्यबारे बढ्दो सार्वजनिक रूपमा छलफलहरू समावेश छन् जसले थप सेवाहरूको आवश्यकतामाथि प्रकाश पार्न र माग बढाउन मद्दत गर्छ । साथै, यो क्षेत्रमा अवस्थित गहिरो डिजिटल दूरीको पहिचान गरेर त्यो खाडललाई पुर्ने अवसरहरूको बढ्दो मान्यतालाई बुझ्न पनि सहयोग गर्छ ।

युनिसेफका अनुसार, बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै, यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीका लागि पनि तयारी अवस्थामा रहनुपर्छ ।

दक्षिण एसियाको ३० प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण खोप लगाएका छन् र नयाँ प्रकारका भाइरसहरू देखा परेसँगै परिवारहरू असुरक्षित छन् । विश्वभरका सरकारहरूले कोभिड-१९ को खोपहरूमा निष्पक्ष र समान पहुँच सुनिश्चित गर्नुपर्छ । जबसम्म यो महामारी सबैका लागि समाप्त हुँदैन, तब सम्म यो कसैको लागि समाप्त हुँदैन ।

कोभिड-१९ को महामारीले हाम्रो अवस्थालाई झनै नराम्रो बनाएको छ । ‘हाम्रा विद्यालयहरू प्रायः एकैपटक महिनौंसम्म बन्द भएका छन् । हामीमध्ये धेरै बालबालिका अब कहिल्यै विद्यालय नफर्कन पनि सक्छौँ,’ युनिसेफले भनेको छ ।

प्रतिवेदनले बालबालिकाको प्रगतिलाई पहिलेकै अवस्थामा पुर्‍याउन र दक्षिण एसियाका प्रत्येक बालबालिकाको राम्रो भविष्य निर्माण गर्न आवश्यक पर्ने मुख्य कार्यहरूको रूपरेखा प्रस्तुत गरेको छ, तीमध्ये निम्न कुराहरू छन् :
-बाल-संवेदनशील सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा, विशेषगरी सबैभन्दा जोखिममा रहेका बालबालिका र तिनीहरूका परिवारहरूका लागि लगानी विस्तार गर्ने ।
-सिकाइमा पुगेको हानिलाई सम्बोधन गर्दै, यो क्षेत्रमा भएको डिजिटल दूरीलाई कम गर्दै र प्रत्येक बालबालिकाको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालयहरूमा व्यक्तिगत रूपमा सिकाइलाई पुनः सुरु गर्ने ।
-बालबालिकालाई घातक तर उपचार गर्न सकिने रोगहरूबाट जोगाउन र दक्षिण एसियाको बाल पोषण संकटलाई उल्टाउन एकीकृत राष्ट्रिय स्वास्थ्य र पोषण प्रणालीलाई बलियो बनाउने ।
-बालबालिकालाई बेवास्ता हुनुबाट र दुर्व्यवहारबाट जोगाउने र सबै बालबालिका र युवाहरूको मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने ।
-बालबालिकाका लागि मुख्य सेवाहरूमा जलवायु अनुकूलन र लचिलोपनमा बढ्दो लगानीको माध्यमबाट बालबालिकालाई जलवायु परिवर्तनबाट जोगाउन तत्काल कार्य गर्ने ।

२०२० मा, कोभिड-१९ सँग जोडिएका अवरोधहरूले अनुमानित दुई लाख २८ हजार थप बाल मृत्यु निम्त्याएको र अघिल्लो वर्षको तुलनामा लगभग १९ लाख बढेर ५३ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित भएको अनुमान गरिएको छ । २०२० मा थप ३८ लाख ५० हजार बालबालिका ख्याउटेपनबाट ग्रस्त भएको मानिन्छ ।

अन्य क्षेत्रको तुलनामा दक्षिण एसियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द थिए । इन्टरनेटमा जोडिन नसकेका र उपकरण खरिद गर्न आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका र उनीहरूका शिक्षकहरूलाई कक्षाकोठाको पढाइबाट, सिकाइका अवसरहरूमा चिन्ताजनक असमानताहरू निम्त्याउन सक्ने सम्भावना भएको, दूर शिक्षा प्रणालीमा परिणत गर्न बाध्य पारिएको थियो । परिणाम स्वरूप, दुर्गम क्षेत्रका गरिब बालबालिका, किशोरीहरू र अपांगता भएका विद्यार्थीहरू सिकाइका अवसरहरूमा असमान रूपमा प्रभावित भएका छन् ।

प्रतिक्रिया