देव गुरुङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन

नेपालखोज २०७८ पुष १३ गते १५:४५

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा सबै समूहलाई समावेश गर्न समिति गठन गरिएको छ। स्थायी समिति सदस्य देव गुरुङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो

आज प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय समितिमा सबै समुदायको प्रतिनिधित्व हुने गरी अध्ययन गर्न गुरुङको नेतृत्वमा कार्यदल बनाएको छ ।

सबै जातजाति, क्षेत्र, लिङ्ग, समुदायको समान प्रतिनिधिको विषयमा गृहकार्य गर्न समिति बनाइएको छ। माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरू समावेश गर्ने भनिएको छ।

यस्तैगरी अपाङ्ग, पिछडिएको क्षेत्र, अल्पसंख्यकलाई समेत कोटा निर्धारण गरिएको छ। ती सबै समुदायको पार्टी विधानमा तोकिए बमोजिम प्रतिनिधित्व के कसरी गराउने भन्ने विषयमा गुरुङ नेतृत्वको कार्यदलले खाका तयार गर्ने छ।

त्यो सबै गृहकार्य भएमा बुधवार एक बजे बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ। पार्टी प्रतिवेदनका विषयमा छलफल भइरहेकाले अब अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति चयनको विषय प्रवेश गरेको छ।

प्रतिक्रिया