सिरहामा किसान रिहा भए पनि चक्काजाम यथावत्

नेपालखोज २०७८ पुष १४ गते १२:३१

काठमाडौं । सिरहामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको आन्दोलन जारी रहेको छ । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाट भएको विषयमा विवाद भएपछि केही व्यक्तिले बिउ भण्डारण गोदामको ताला तोडेर बिउ लगेका थिए ।

पुस ६ मा किसानहरूलाई निःशुल्क गहुँको बिउ वितरण गर्दा समयमै प्राप्त गर्न नसकेको भनेर उनीहरुले ताला नै तोडेका थिए । औरही गाउँपालिका अध्यक्ष सिद्वार्थ यादवले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरिएपछि जनमत पार्टीले पुस ११ मा विभिन्न ठाउँमा मशाल जुलुस गरेको थियो । ३ दिनसम्म आमहडताल गर्दै जनमत पार्टीले लोकमार्ग अवरोध जस्ता विरोधका कार्यक्रम गर्दै आएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको क्रममा पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जनालाई रिहा गरेको छ । जिल्ला प्रशासनले निषेधाज्ञा पनि फिर्ता लिएको छ । त्यस्तै मिथिलेश यादवलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

प्रशासनले निषेधाज्ञा फिर्ता लिएर कार्यकर्ता रिहा गरे पनि जनमत पार्टीले आफ्ना आन्दोलनको कार्यक्रम जारी राखेको छ । जनमत पार्टीले औपचारिक रूपमा आन्दोलनको कार्यक्रम फिर्ता नलिएको सीके राउतको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया