वीरगन्ज महानगर भन्यो– कृषि बिमालाई छुट्याएको १५ लाख उपयोगमै आएन

काठमाडौं । वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बिमा समितिले वडा–वडामा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बिमामा अनुदानका लागि १५ लाख रुपैयाँ छुट्याएको तर बिमासम्बन्धी जानकारीको अभावमा उक्त रकम उपयोगमा नआएको बताए ।
बिमा समितिको आयोजनामा वीरगन्ज महानगरपालिकामा गरिएको बिमासम्बन्धी जनचेतनामूलक अन्तरक्रियामा उनले कृषि बिमा लागतमा मात्र आधारित नभई बाली काटेपछि समेतको सबै सुविधासहित आएमा कृषि बिमाप्रति आकर्षण बढ्ने उल्लेख गरे । जोखिम विश्लेषण गरेर बिमाको प्रिमियम तोक्नुपर्ने र २५ हजार रुपैयाँ छुटको दायरा बढाउनुपर्ने पनि मेयर सरावगीले बताए ।
उनले कृषि बिमाको प्रिमियममा अनुदान दिए जस्तै निजी सम्पत्ति बिमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बिमा प्रिमियम संकलन तथा बिमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । परम्परागत बिमालेखको सट्टामा हालको आवश्यकताअनुसारको बिमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बिमा सर्भेयरलाई कारबाही गर्न र सहरी क्षेत्रमा मात्र सीमित नभई गाउँ टोलसम्म बिमा कम्पनीहरू अनिवार्य रूपमा जाने व्यवस्था गर्न बिमा समितिसँग उनले आग्रह गरे ।
मेयर सरावगीले बिमासम्बन्धी नीति निर्माणमा महानगरपालिकालाई सहयोग गर्न र नगरपालिका महासंघका पदाधिकारीहरूसँग समेत बिमासम्बन्धी अन्तरक्रिया गर्न आग्रहसमेत गरे ।
यस्तै कार्यक्रममा बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा बिमाको पहुँच विस्तारका लागि बिमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बिमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरूबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए ।
उनले ज्येष्ठ नागरिकलाई समेत बिमाको दायरामा ल्याउन महानगरसँग आग्रह गर्दै बिमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए । उनले कृषि तथा पशुपन्छी बिमालेखमा सरलीकृत गरिने जानकारी दिँदै बिमा कम्पनीहरूलाई झुक्याएर बिमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छीसहित सबै बिमाको दाबी भुक्तानी तत्काल गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिइएको बताए ।
अध्यक्ष सिलवालले बिमा कम्पनीहरूले गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याउदैं नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग पनि बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने बताए । कार्यक्रममा बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमाको महत्त्व, बिमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बिमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बिमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका वडाध्यक्षलगायत सहभागीहरूले बिमा कम्पनीहरूले प्रलोभन देखाएर बिमा गर्ने तर बिमा दाबी भुक्तानी नदिने गरेको, बिमा शिक्षाको अभाव भएको, धेरै कमिसन दिने धनी व्यक्तिको बिमा गराउन बिमा अभिकर्ता तथा एजेन्ट जाने तर न्यून आय भएका विपन्न वर्गलाई भने वास्ता नगर्ने गरेको गुनासो गरे । साथै, उनीहरूले ज्येष्ठ नागरिकका लागि बिमाको छुट्टै व्यवस्था गर्न, बिमालेखका सेवा सर्तलाई सरल एवं छोटो बनाउन, स्वास्थ्य बिमामा देखिएका विसंगति हटाउन र वडा वडामा बिमासम्बन्धी चेतनामूलक कार्यक्रमहरू आयोजना गर्न आग्रह गरे ।
प्रतिक्रिया