बिहीबार, जेठ २, २०८२

जनवरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस, मनाइँदै नवौं संस्करण

नेपालखोज २०७८ पुष १६ गते १७:२०

काठमाडौं । आठ वर्षदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यसपटक नवौं संस्करणका रुपमा मनाइने भएको छ । प्रत्येक वर्ष अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आइएको छ ।

नेपाली टोपी संसारभर फैलिएका नेपाली भाषी एवं नेपाली मूलका नागरिक सबैको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्देश्यका यो अभियानको थालनी भएको हो । डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक सन्जालबाट सुरु गरेको यो अभियानलाई संस्थागत र व्यवस्थित तुल्याउन नेपाली टोपी प्रतिष्ठानको स्थापनासमेत भइसकेको छ । विश्वका विभिन्न देशमा नेपाली टोपी प्रतिष्ठानका शाखा पनि गठन भइसकेका छन् ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्छ । नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने आलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपूजा र भाइटीकामा लगाइने काँचोधागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ढाका भनिन्छ । ढाकाबाट बुनिएको टोपीलाई ढाका तपुली भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।

‘ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जुन एउटा अपभ्रम र मिथ्या मात्रा हो,’ नेपाली टोपी प्रतिष्ठानले भन्दै आएको छ ।

यस अवसरमा विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपालीमूलका सबै नागरिकहरुलाई भोलि पुस १७ गते (जनवरी १ तारिख, २०२२) का दिन आफ्नो अवस्थाअनुकूल अनुसार नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन नेपाली टोपी प्रतिष्ठानले अपिलसमेत गरेको छ ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।

प्रतिक्रिया