महामारीमा पनि जमेर बिकिरहेछ हातहतियार !

काठमाडौं । इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युटको एक अध्ययनअनुसार कोभिड-१९ को महामारीबीच पनि संसारमा हातहतियारको खरिद-बिक्री कम भएको छैन ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युट (सिपरी) को ताजा रिपोर्टमा उल्लेख गरिए अनुसार- यो वर्ष संसारका सयवटा सबैभन्दा ठूला हतियार कम्पनीले ५३१ अर्ब डलरको हतियार बिक्री गरेका छन् । विश्वब्यापी महामारीका बाबजुद संसारमा हतियारको खरिद-बिक्रीको वृद्धि जारी छ ।
संसारभरका देशमा कोरोना महामारीबीच लकडाउनका कारण बजारमा विभिन्न वस्तुको मागमा कमी आयो जसले गर्दा बजारमा मन्दी देखा पर्यो । यसबीच हतियारको निर्माण तथा बिक्रीको व्यवसाय भने मौलाइरह्यो । वर्ष २०१९ को तुलनामा हतियारको बजार १.३ प्रतिशतले विस्तार भएको बताइएको छ । सिपरी की शोधकर्ता एलेक्जेन्ड्रा मार्कस्टाइनरका अनुसार २०२० कोरोना महामारीको पहिलो पूर्ण वर्ष थियो । आश्चर्यजनक कुरा के भने त्यो वर्ष अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा ३.१ प्रतिशतले कमी आए पनि हतियार तथा गोला-बारूदको व्यापार भने निर्वाध चलिरह्यो ।
गएको वर्ष संसारका सयवटा ठूला हतियार कम्पनीले कुल ५३१ अर्ब डलरको हतियार तथा त्यससँग जोडिएको सेवा बिक्री गरे । यो रकम बेल्जियम जस्तो विकसित देशको कुल आर्थिक उत्पादनभन्दा पनि बढी हो ।
अमेरिकाले हतियारको उत्पादन तथा बिक्रीको क्षेत्रमा संसारकै नेतृत्व गरिरहेको छ । संसारका शीर्ष १०० हतियार कम्पनीमध्ये ४१ वटा कम्पनी अमेरिकी छन् । उनीहरुले २०२० मा २८५ अरब डलरको हतियार बिक्री गरेका थिए जसमा प्रत्येक वर्ष १.९ प्रतिशतले वृद्धि भइरहेको छ ।
बोन इन्टरनेसनल सेन्टर फर कन्फ्लिक्ट स्टडिजका राजनीतिक जानकार मारकुस बेयरका अनुसार हतियार कम्पनीहरु कतिपय स्थितिमा आफ्नो राजनीतिक प्रभाव समेत प्रयोग गर्छन् । उनले एक अमेरिकी गैर-सरकारी संगठन ओपन सेक्रेटको एक रिपोर्ट उद्धृत गरेका छन् जसमा हतियार कम्पनीहरुले आफ्नो प्रभाव कायम राख्न अर्बौं डलर खर्च गर्ने गरेको कुरा उल्लेख छ ।
अहिले भारतसमेत हतियार उत्पादन एवं बिक्रीको यो दौडमा सामेल छ । संसारका १०० सबैभन्दा ठूला हतियार कम्पनीमा भारतका तीन कम्पनी छन् । उनीहरुको हतियारको बिक्री कुल हतियार बिक्रीको १.२ प्रतिशत छ जुन दक्षिण कोरियाली कम्पनीहरुको हतियार बिक्रीको बराबर हो ।
-डचेवेले फिचर
प्रतिक्रिया