‘कांग्रेसको मेलमिलाप नीतिकै जगमा प्रजातान्त्रिक राजनीति सम्भव भयो’

नेपालखोज २०७८ पुष १६ गते १०:५६


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलमिलापको नीतिको जगमा राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले मेलमिलापको नीतिले लोकतन्त्र बहाली भएर राजनीतिक सफल प्राप्त हुन सकेको दावी गरेका हुन् ।

कांग्रेस नेताहरू बिपी कोइराला, गणेशमान सिंहलगायतका कारण राजनीतिक परिवर्तन सम्भव भएको प्रधानमन्त्री देउवाले जनाएका छन् । २०३३ पुस १६ गते आजकै दिन बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरूले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्यागेर स्वदेश फर्किएको कुरा देउवाले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवा सामाजिक सञ्जालमा उल्लेख गर्छन, ‘उहाँहरूको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो ।’ प्रधानमन्त्री देउवाले नेताहरूको त्याग, संघर्ष र योगदानप्रति उच्च सम्मान पनि प्रकट गरेका छन् ।

कांग्रेस नेता एवम प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको सम्झनामा आजको दिन मेलमिलाप दिवस मनाउने गरिन्छ ।

२०३३ साल पुष १६ गते बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतबाट फर्किएका थिए । उनीहरू करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया