लिङ्देन र मिश्रको भेट, होला त पार्टी एकता ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । आज भएको भेटघाटमा अध्यक्ष लिङ्देन र महामन्त्री डा.धवलशमशेर राणा मिश्र निवास पुगेका हुन् ।
रवीन्द्र मिश्रले देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्,‘विहानी पाहुनासँग राजनीतिसँगै राजकाज संवाद । आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु ।’
रवीन्द्र मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याएका थिए । त्यसमा उनी गणतन्त्र र संघीयता विरुद्ध उभिएका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि गणतन्त्रको विरोध गर्दै राजतन्त्रको एजेण्डा बोकेको छ । भेटका क्रममा लिङ्देनले एजेण्डा उस्तै उस्तै भएकाले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएको बुझिएको छ ।
२०७४ सालको आमनिर्वाचनमा दुबै पार्टी राष्ट्रिय पार्टी बन्न सकेका थिएनन् । तीनै तहका चुनाव नजिकिएको बेला भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । राप्रपा र विवेकशील पार्टीले विचार मिल्नेहरु एक ठाउँ उभिनु पर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया