सोमबार, वैशाख १७, २०८१

पाब्लोले २ मिलियन डलर जलाए, परिवारलाई आगो तपाए

नेपालखोज २०७८ पुष १६ गते १७:४५

काठमाडौं । पाब्लो एस्कोबारको पूरा नाम पाब्लो एमिलियो एस्कोबार गाभिरिया हो । उनको जन्म १ डिसेम्बर, १९४९ मा कोलम्बियाको रियोनेग्रोमा भएको थियो । मृत्यु २ डिसेम्बर, १९९३ मा मेडेलिनमा भएको थियो । मृत्यु भएको २८ वर्ष पुगे पनि यीनलाई अझै पनि विश्वकै कुख्यात लागुऔषत तस्करको रुपमा लिइन्छ । सर्वत्र नाम चर्चामा छ ।

चोरेर २० वर्षमै करोडपति
पाब्लोले नौटंकी गर्दै पैसा कमाउन सक्दो प्रयास गरे, सफल पनि भए । उनी आफ्नो गिरोहसँगै घोटाला गर्थे । निषेधित चुरोट र नक्कली लटरी टिकटहरू बेच्ने गर्थे । बैंकबाट पैसा लिएर निस्किँदै गरेका मानिसबाट उनले नगद लुट्ने गर्थे । अपराध कर्म गरेरै २० वर्षको उमेरमा करोडपति भएका थिए ।

कोलम्बियाली नागरिक पाब्लो सन् १९८० देखि १९९० को दशकको सुरुमा विश्वको सबैभन्दा शक्तिशाली लागूऔषध तस्कर थिए । उनका बुबा किसान र आमा एक विद्यालयकी शिक्षिका थिइन् । शिक्षित परिवारका भएपनि उनको दिमाग अपराधकर्ममा ढल्कियो ।
किशोरावस्थादेखि उनले आपराधिक जीवन सुरु गरेका थिए । उनका प्रारम्भिक अवैध गतिविधिहरूमा कार चोरेर बेच्ने, विभिन्न नक्कली सामान बेच्ने, स्टेरियो उपकरणको तस्करी गर्ने, चिहानमा राखिएका महँगा ढुंगा चोरेर बेच्नेलगायत थियो । एस्कोबारले जीवनमा सयौं कार चोरेका थिए । कार चोरेर अपराध गरेको आरोपमा उनी पहिलोचोटी सन् १९७४ मा पक्राउ परेका थिए ।

मृत्यु भएको तीन दशक हुन लागे पनि पाब्लो मेडेलिन ड्रग कार्टेलको प्रमुखको रूपमा आफ्नो रमाइलो समयको रूपमा परिचित छन् । एस्कोबार, एक किसान परिवारमा जन्मिएका थिए । जति अपराध गरे, उति नैं पैसा कमाए । संसारकै धनाढ्य व्यक्तिका रुपमा परिचित भए ।
कार र चिहानका बहुमूल्य ढुंगालगायत चोरेर बेच्दाबेच्दै उनी करोडौंपति भएका थिए । सामान्य चोरी गरेर कमाउँदै गएका उनी छोटो अवधिमै एक स्थापित लागुऔषध तस्कर बनेका थिए ।

गरिबीको चपेटामा थियो उनको परिवार
एस्कोबार एक ग्रामीण किसान परिवारमा जन्मिएका थिए । पहिले उनीसहित अन्य परिवारका सदस्यहरू बिजुली र पानीको पहुँच पनि नभएको घरमा बस्थे । जुत्ता नभएका कारण उनी र उनको भाइलाई एक पटक स्कूल पुग्नेवित्तिकै घर फर्काइएको थियो ।
दुःख गर्दै एस्कोबारले युनिभर्सिडेड डे एन्टिओक्वियामा कलेज लेभलमा राजनीतिशास्त्र अध्ययन गरेका थिए । तर कलेजमा पनि आवश्यक शुल्क बुझाउन नसकेपछि पढाइ बन्द गर्न बाध्य भएका थिए ।

गरिबीलगायत विभिन्न कारणले उनले आफ्नो आपराधिक करियरको शुरुवात गर्न थालेका थिए । यहाँसम्मकी सडकमा निर्माण गर्न राखिएका ढुंगा चोरेर तस्करलाई बेच्ने गर्थे । उनी चिहानमा राखिएका बहुमुल्य ढुंगाहरू चोरेर बेच्ने गर्थे ।

कोकिनको तस्करीमा लागेपछि मालामाल भएका थिए पाब्लो
कोलम्बियामा बिस्तारै कोकिन उद्योगहरू बढ्दै गएका थिए । उनको संगत पनि पेरु, इक्वेडर र बोलिभियाका तस्करहरूसँग हुँदै गयो । उनी अन्ततः लागूपदार्थको तस्करीमा पूर्ण रुपमा अन्तर्राष्ट्रिय बजार लिन सफल हुँदै गए । १९७५ मा उनको निकटता आपराधिक संगठनसँग हुन थाल्यो । उनका साझेदारहरूमा जुआन डेभिड, जर्ज लुइस र फेबियोजस्ता तस्करहरू थिए । एस्कोबारले कोकिनको उत्पादन, ढुवानी र बिक्री गरेर नाम कमाएको संस्थामा प्रमुख भएर काम गर्ने अवसर पाए ।

पाब्लो १ डिसेम्बर १९४९ देखि २ डिसेम्बर १९९३ सम्म कोलम्बियाली ड्रग्सका मालिक नै भए । उनी एक पटक ‘विश्वको सबैभन्दा ठूलो अपराधी’ भनिन्थे । सम्भवतःउनको समयमा सबैभन्दा ठूला कोकिन व्यापारी थिए ।

पाब्लोको नालीबेली
१९७० को प्रारम्भमा, उनी एक चोर र एक अंगरक्षक पनि थिए । लागूपदार्थको व्यापारमा प्रवेश गर्नुअघि मेडेलिन कार्यकारीको अपहरण र फिरौतीस्वरुप तुरुन्तै लाखौं डलर उठाएका थिए ।

पाब्लोका भाइ, राबर्टोले लेखेको किताव ‘द एकाउन्टेन्ट्स स्टोरी’ ले पाब्लो कसरी गरिबी र विस्मृतिबाट उठेर संसारको सबैभन्दा धनी व्यक्ति बन्न पुगेर भन्ने खुलाइएको छ । विश्व इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा सफल आपराधिक संगठन, मेडेलिन ड्रग कार्टेलले धेरै पटक संयुक्त राज्य अमेरिकाभित्र आधा बिलियन डलरबढी तस्करी गर्यो । कार्टेल संस्थाले दिनको आठ टन कोकिन तस्करी गथ्र्याे । पाब्लो कोकिन तस्करीमा सहभागी भएर करोडौं डलर कमाउँदै गए । कोकिन बिक्री गर्ने संस्थामा उनको नै हालिमुहाली चल्ने गर्थ्‍यो ।

सन् १९७५मा एस्कोबारले आफ्नो कोकिन व्यवसाय तीब्र रुपमा विस्तार गर्न थाले । अमेरिकामा तस्करी सम्झौता गर्न आफैं विमान उडाएर जाने गर्थे । पैसाका लागि उनी तस्करी पनि र मान्छे पनि मार्थे । उनले सन् १९७५ मा एक प्रसिद्ध मेडेलिन व्यापारी फाबियो रेस्ट्रेपोको हत्या गरेका थिए । उनले ती व्यापारीबाट १४ किलो सुन पनि किनेका थिए ।

पाब्लो हत्या आरोपमा पटकपटक जेल परे । तर पैसा र शक्तिको आडमा उम्किने गर्थे । उनी र उनका धेरै मानिसहरू १९७६ मे महिनामा पक्राउ परेका थिए । पाब्लोले उम्किन मेडेलिन न्यायाधीशहरूलाई घूस दिन खाजे । तर असफल भएका थिए । कानुनी झगडाको क्रममा पाब्लोले दुईजना जेल अधिकारीलाई जेलभित्रै कैदीसँग मिलेर मृत्युदण्ड दिएका थिए । यो विषय प्रमुख मुद्दा बन्द भयो । जेलमा बस्दा जेलका अधिकारीसँग व्यवहार गर्ने आफ्नै तरिका आविष्कार गरे ।

समाजसेवी
१९८६ मा कोलम्बियाली राजनीतिमा प्रवेश गर्ने प्रयास गरे । देशको १० बिलियन राष्ट्रिय ऋण तिरिदिने पनि प्रस्ताव पनि गरेका थिए ।
सन् १९८२ मा एस्कोबार कोलम्बियन कांग्रेसको प्रतिनिधिमण्डलको उप-वैकल्पिक प्रतिनिधिको रूपमा निर्वाचित पनि भए । मेडेलिन कार्टेलले संयुक्त राज्य अमेरिका, मेक्सिको, पोर्टो रिको र डोमिनिकन रिपब्लिकमा प्रवेश गर्ने ड्रग्सको ठूलो अनुपातलाई नियन्त्रण गर्ने गथ्र्यो । यद्यपि एस्कोबारलाई कोलम्बियाली सरकार र संयुक्त राज्य अमेरिकाले शत्रुको रूपमा हेरेका थिए ।

पाब्लो समाजसेवी र खेलाडी पनि थिए । मेडेलिन सहरका धेरैका लागि नायक थिए । विशेष गरी गरिबहरूका लागि उनी नायक थिए । उनले कोलम्बियाका गरिब मानिसहरूमाझ राम्रो काम गरेका थिए । उनी आजीवन खेलकुद प्रेमी पनि भए । उनी धेरै फुटबल मैदानहरू र बहु–प्रयोग खेलकुद परिसरहरू निर्माण गर्ने गर्थे । धेरै साना लिग फुटबल टोलीहरू प्रायोजित गर्ने श्रेय पनि उनलाई जान्छ ।

मेडेलिन समुदायमा पाब्लो लोकप्रिय व्यक्तिका साथै एक असुरक्षित, पागल, निर्दयी हत्याराको रूपमा आफ्ना व्यापारिक सहयोगीबीच परिचित थिए ।

पाब्लोले १९७६ मार्चमा २६ वर्षको उमेरमा मारिया भिक्टोरियासँग विवाह गरेका थिए । एस्कोबारले हेसिन्डा नेपोलिस (नेपल्स एस्टेटको स्पेनिश रूप) भनिने विलासी सम्पत्ति बनाएर बसेका थिए । यसको नजिकै ग्रीक शैलीको किल्ला निर्माण गर्ने योजना बनाएका थिए । किल्लाको निर्माण त सुरु भयो, तर पूरा हुन सकेन । उनको फार्म, चिडियाखाना र किल्ला सरकारले जफत गरिदिएको थियो ।

जीवनशैली र अचाक्ली सम्पति
पाब्लोसँग यति धेरै कालो धन थियो कि, बैंकमा समेत राख्न सकेनन् । बैकमा धेरे कम रकम जम्मा गरे । पाब्लो र उनका भाइ मिलेर आफ्नो भण्डारमा नगदका बन्डलहरू जम्मा गर्ने गर्थे । प्रतिवर्ष लाखौं रुपैयाँ पत्रु कागजको रूपमा नष्ट गर्ने गर्थे । मुसाले राती धेरै बन्डल नोट नष्ट गर्दा पाब्लो वाक्कदिक्क थिए ।
आजभन्दा ४० वर्षअघि विश्वको सातौं धनी व्यक्ति थिए उनी । २५ बिलियन अमेरिकी डलरको अनुमानित व्यक्तिगत सम्पत्तिको साथ उनीसँग धेरै लक्जरी घर र सवारी थिए । पाब्लोको भव्य जीवनशैली थियो । केहीको कमी थिएन । ठाउँठाउँमा विलासी घरहरू थिए । निजी बिमान थिए ।

एस्कोबारले यति पैसा जम्मा गर्थे कि त्यो सबै खर्च गर्न सक्दैन थिए । गनेर बैंकमा जम्मा गर्ने पनि उनलाई समय हुँदैनथ्यो । पैसा ठाउँठाउँमा घर किनेर गोदाम बनाएर जम्मा गर्ने गर्थे । यतिसम्म कि उनले लुकाउनका लागि खेतमा गाडेर पनि पैसा राख्ने गरेका थिए ।
पाब्लोसँगसँग भएको सम्पतिको अहिलेसम्म केही लेखाजोखा छैन । उनको मृत्युपछि धेरै सुन र नगद जमिनमुनी कसैले पत्ता लगाउन सकेनन् । उनी जीवित हुँदा पनि पाब्लो आफैं सम्पति सम्हाल्न सक्दैन थिए ।

२ मिलियन डलर बालेर परिवारलाई आगो तपाए
पाब्लो विश्वको इतिहासमै सबैभन्दा धनी लागुऔषध मालिकहरूमध्ये एक मानिन्छन् । उनी ठूलो विलासिता र लागूपदार्थको तस्करी हिंसाको बीचमा हुर्केका थिए ।कोकिनका राजा पाब्लो एस्कोबारको जाडोको समयको रोचक कथा छ । उनले एक पटक आफ्नो परिवारलाई न्यानो राख्नको लागि २ मिलियन डलरका नोट जलाइदिएका थिए ।

कुख्यात मेडेलिन कार्टेलका मालिक पाब्लो एस्कोबारका छोराले बताए अनुसार परिवारलाई न्यानो राख्न एक पटक पाब्लोले २ मिलियन डलर जलाएका थिए ।

पाब्लोकै आफन्तहरूका अनुसार पाब्लोले अपराध गरेपछि एकपटक परिवारसहित मेडेलिन पहाडमा लुक्न गएका थिए । उनकी छोरी मानुएलालाई हाइपोथर्मिकको समस्या भयो । उनको शरीरमा तापक्रम एकदमै कम भयो । छोरी जाडोले काम्न थालिन् । ज्यानमा पातलो लुगा थिए । छोरीलाई न्यानोको आवश्यता पर्यो । परिवारका अरु सदस्यलाई पनि जाडो निकै भयो । पाब्लोले यस अवस्थामा न्यानो राख्न आफूसँग भएका २ मिलियन डलरका नोट जलाए । छोरीलाई र परिवारका अन्य सद्स्यलाई चिसो हुनबाट जोगाएका थिए ।

आपराधिक कार्य र हत्यामा संलग्नको आरोप
पाब्लो एस्कोबारलाई कोलम्बियाका राष्ट्रपतिदेखि विभिन्न व्यक्ति हत्याको आरोप थियो । यस्तै लागुपदार्थ तस्करीको पनि आरोप थियो । उनी पक्राउ पर्नुको साटो झन् शक्तिशाली हुँदै आएका थिए ।

अन्ततः उनका आफन्तहरूलाई कब्जामा लिएर कठोर यातना दिइएको थियो । यो यातना पाब्लोका विरोधीले दिएका थिए वा सरकार पक्षकाले भन्ने खुल्न सकेको छैन ।

एकपटक पाब्लोको सेनासँग जम्काभेट भएको थियो । भाग्ने क्रममा एउटा घरको छतमा गोली लागेर ज्यान गएको बताइन्छ । यद्यपि उनको मृत्युको सम्बन्धमा खास तथ्य बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया