शनिबार, जेठ ४, २०८२

बढ्य‍ो पत्रकारविरुद्धको कारबाही

नेपालखोज २०७८ पुष १८ गते १७:५५

काठमाडौं । गैरसरकारी संस्था रिपोटर्स विदाउट बोडर्स (आरएसएफ) का अनुसार अहिले संसारका ४८८ मिडिया पेसाकर्मी विभिन्न देशका जेलमा कैद छन् । यो बितेका २५ वर्षयताको सबैभन्दा उच्च तथ्यांक हो । आरएसएफले यसैसाता वर्ष २०२१ मा पत्रकारहरुको अवस्थासम्बन्धी एक रिपोर्ट सार्वजनिक गर्दै यो वर्ष ४६ पत्रकार मारिएको जानकारीसमेत दिएको छ ।

अन्तराष्ट्रीय संस्था रिपोटर्स विदाउट बोडर्सले हरेक वर्ष पत्रकारहरुको अवस्थाका सम्बन्धमा आफ्नो रिपोर्ट जारी गर्दै आएको छ । रिपोर्टअनुसार यो वर्ष मारिएका पत्रकारको संख्या बितेका २५ वर्षयता मारिएका पत्रकारको संख्यामध्ये सबैभन्दा कम हो । यसको कारण मध्यपूर्वको संघर्षमा आएको शिथिलता बताइएको छ ।

प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्ने आरएसएफले एक वक्तव्यमा भनेको छ, ‘१९९५ मा आरएसएफले वार्षिक प्रतिवेदन जारी गर्न थालेयता आफ्नो कामक‍ो सिलसिलामा हिरासतमा लिइएका पत्रकारको संख्या यति बढी कहिल्यै थिएन ।’ म्यानमार, बेलारूस तथा हङकङमा मिडियाविरुद्धको कारबाहीका कारण गएको एक वर्षमा यो संख्या लगभग २० प्रतिशतले वृद्धि भएको छ ।

आरएसएफका अनुसार यो वर्ष जति बढी महिला पत्रकार पनि यसअघि हिरासतमा थिएनन् । वर्ष २०२१ मा ६० महिला पत्रकार गिरफ्तारीमा परेको आरएसएफले बताएको छ । चीनमा यो वर्ष १२७ पत्रकार गिरफ्तार गरिए । पत्रकारविरुद्ध कारबाही गर्ने मुलुकमा चीन नै सबैभन्दा अगाडि रह्यो । हङकङमा चिनियाँ सरकारको कारबाही तेज भयो भने जुनमा लोकतन्त्र समर्थक अखबार एप्पल डेलीको कार्यालयमा छापा मारेर त्यसका सम्पादक एवं पत्रकारहरुलाई हिरासतमा लिइयो । त्यसपछि त्यो पत्रिकाको प्रकाशन नै बन्द भयो । उता म्यानमारमा पनि ५३ पत्रकारलाई जेलमा कोचियो । त्यस्तै भियतनाममा ४३, बेलारूसमा ३२ तथा साउदी अरबमा ३१ जना पत्रकार गिरफ्तारीमा परे ।

यसैगरी यसअघि न्युयोर्कस्थित मिडिया वाचडग ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ ले जारी गरेको एउटा रिपोर्टमा वर्ष २०२१ मा (२०२१ जनवरी १ देखि डिसेम्बर १) संसारभर २९३ पत्रकार गिरफ्तार भएको कुरा बताइएको थियो ।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) का अनुसार यसबीच २४ पत्रकार समाचार संकलनका क्रममा मारिए भने थप १८ जनाको हत्या संदीग्ध परिस्थितिमा भयो । सीपीजे भन्छ- पत्रकारहरुलाई जेलमा राखिनुको कारण अलग-अलग देशमा अलग-अलग बताइए पनि यसले राजनीतिक उथल-पुथल तथा स्वतन्त्र रिपोर्टिङप्रतिको बढ्दो असहिष्णुतालाई दर्शाउँछ ।

सीपीजेका कार्यकारी निर्देशक जोएल साइमन भन्छन्- सीपीजेले विगत ६ वर्षदेखि संसारभर गिरफ्तार पत्रकारहरुको लेखाजोखा तयार गर्दै आएको छ । यस क्रममा के देखिन्छ भने संसारभरका सरकारहरु सूचनालाई नियन्त्रित र प्रतिबन्धित गर्ने प्रयासमा प्रतिबद्ध भएर लागिपरेका छन् अनि उनीहरु यो प्रयास निर्लज्जतापूर्वक गरिरहेका छन् ।

सीपीजेको रिपोर्टअनुसार चीनमा गत वर्ष ५० पत्रकार थुनामा परे जुन एउटै देशको सर्वाधिक गिरफ्तारी हो । यसैगरी म्यानमारमा २६ पत्रकार थुनामा राखिए । म्यानमारमा १ फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भएका गतिविधिहरुको रिपोर्टिङ गर्ने पत्रकारहरु यस्तो कारबाहीको तारो थिए । उता मिश्रमा २५, भियतनाममा २३ तथा बेलारूसमा १९ पत्रकार राज्यको कोपको सिकार भए ।

सीपीजे भन्छ- मेक्सिकोका पत्रकारहरु सधैं अपराधिक तत्त्वको निशानामा पर्दै आएका छन् । अपराधिक गिरोह तथा भ्रष्ट सरकारी अधिकारीले आफ्नो स्वार्थका लागि बारम्बार पत्रकारहरुको हत्यासम्म गराउँदै आएका छन् ।
-एएफपी

प्रतिक्रिया