भोकमरीले थप पिरोल्नेछ !

काठमाडौं । मानवीय मामिलाको संयोजनका लागि गठित संयुक्त राष्ट्रसंघीय संस्था ओसीएचएका अनुसार वर्ष २०२१ मा संसारका २५ करोड मानिसलाई मानवीय सहयोग वा संरक्षणको आवश्यकता परेको थियो भने वर्ष २०२२ मा यस्ता मानिसको संख्या बढेर २७.४ करोड पुग्नेछ । यसको अर्थ के हो भने संसारका हरेक २९औं व्यक्तिलाई मानवीय सहयोगको आवश्यकता पर्नेछ ।
ओसीएचएका अनुसार, ‘राजनीतिक अस्थिरता, बढ्दो विस्थापन, जलवायु परिवर्तनको असर तथा कोभिड-१९ को असरका कारण मानिसहरुलाई यस्तो सहायताको आवश्यकता बढ्दै गएको छ ।’
संयुक्त राष्ट्रसंघीय संस्था ओसीएचए यीमध्ये कम से कम १८.३ करोड मानिसलाई मानवीय मद्दत पुर्याउन सकियोस् भन्ने चाहन्छ जो ६३ वटा देशमा फैलिएर बसेका छन् । ओसीएचएका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्स भन्छन्, ‘मानवीय मद्दतले मानिसको जीवन बचाउँछ । यदि दानको रकम सही समयमा ठाउँमा पुर्याउन सकियो भने मानिसको जीवन र सहयोगको बर्बादी दुवै रोक्न सकिन्छ ।’
धनको आवश्यकता
अनुमानअनुसार विपतमा पर्न सक्ने मानिसहरुको मद्दतका लागि कुल ४.१ करोड डलरको आवश्यकता पर्नेछ । यो चार वर्षपहिले यही कामका लागि आवश्यक रकमभन्दा दोब्बर बढी हो । ग्रिफिथ्सका अनुसार, ‘मानवीय मद्दत समाधानको एउटा भाग मात्र हो । यसको समग्र समाधानका लागि राजनीतिक समाधान पनि खोजिनुपर्छ ।’
यस्तो मद्दतको सबैभन्दा बढी आवश्यकता अफगानिस्तान, सिरिया, यमन, इथियोपियाजस्ता मुलुकमा छ । अफगानिस्तानमा करिब १.४ करोड मानिस भोकमरीको सिकार हुने अनुमान छ ।
ओसीएचए सबैभन्दा बढी चिन्तित इथियोपियाको अवस्थालाई लिएर छ जहाँ त्यहाँको सरकार लामो समयदेखि टिग्रे पिपल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) सँगको आन्तरिक युद्धमा छ । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुका अनुसार टिग्रे प्रान्तमा लगभग साढे तीन लाख मानिस भोकमरीको संकटबाट गुज्रँदै छन् ।
-डीपीए
प्रतिक्रिया