सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड तथा साझा उम्मेदवारबारे छलफल भइरहेको बताइएको छ ।
बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने छ । राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ सिट खाली हुँदैछ ।
कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सिटमा भाग खोजेको छ । माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४–४ सिट दिएर थप एक–एक सिट दिने कांग्रेसको तयारी छ । एक सिट जनता समाजवादीलाई दिनुपर्ने कांग्रेसको प्रस्ताव छ ।
एमालेलाई आफ्नो ८ सिट जोगाउनुपर्ने चुनौती छ । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि आगामी माघ १२ गते चुनाव हुँदैछ । त्यसका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । हाल २ हजार २० मतदाता रहेको बताइएको छ ।

प्रतिक्रिया