आइतबार, असार २२, २०८२

फरक भूमिकामा आधा दर्जन बैंकरहरु

नेपालखोज २०७८ पुष १९ गते १८:१४

काठमाडौं । बैंक तथा बित्तीय संस्थाहरुमा लामो समयसम्म व्यवस्थापन प्रमुखको भूमिका निर्वाह गरेका आधा दर्जन बढी बैंक तथा फाईनान्स कम्पनीहरुका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु अहिले बैंक तथा फाईनान्स कम्पनीहरुको सञ्चालक तथा अध्यक्ष बनेका छन् । सिभिल बैंक, प्रभु बैंक, नबिल बैंक, बैंक अफ काठमाडौ लगायतका आधा दर्जन बैंकहरुमा पूर्व व्यवस्थापन प्रमुखहरुले सन्चालक समितिको नेतृत्व गरिरहेका छन् ।

बिगतमा व्यवस्थापन प्रमुख भएर लामोसमय काम गरेको व्यक्ति बैंक तथा बित्तीय संस्थाहरुको अध्यक्ष तथा सन्चालक हुँदा संस्था थप बलियो हुन सक्ने भन्दै बैंक तथा फाईनान्स कम्पनीहरुले बैंकका पूर्व प्रमुुख कार्यकारी अधिकृतहरुलाई सन्चालक समितीको निर्णायक तहमा राखेको हो । यसरी पछिल्लो समय बैंकको निर्णायक तहमा पुग्नेमा प्रतापजंग पाण्डे देखिएका छन् । सिभिल बैंकका सञ्चालक समितिको अध्यक्ष इच्छाराज तामाङ सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभमा बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेको केही समयपछि नै पाण्डे सिभिल बैंकमा सञ्चालक समितिको अध्यक्ष भएका हुुन । उनी यसअघि सोही बैंकमा मर्ज भएको इन्टरनेशनल लिजिङ एण्ड फाईनान्स कम्पनीमा डिजिएम रहेका थिए । यसैगरी प्रभु बैंकले पनि देविप्रकाश भट्टचन सन्चालक समितिको अध्यक्षबाट हटेपछि लिलाप्रकाश सिटौलालाई अध्यक्ष बनाएको छ । सिटौला यसअघि कृषि बिकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

यसैगरी सिटिजन्स बैक इन्टेनरशनलमा पनि सोही बैंकमा कार्यरत पूर्व प्रमुुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी अध्यक्ष रहेका छन् । भण्डारीले सिटिजन्समा निकै लामोसयमसम्म प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका थिए । नबिल बैंक सन्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल पनि पूर्व प्रमुुख कार्यकारी अधिकृत हुन । नबिलमा अध्यक्ष भएर आउनुअघि पौडेल एनएमबी बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । सोही बैंकमा सञ्चालक रहेका उदयकृष्ण उपाध्याय पनि कुमारी बैकमा पूर्व प्रमुुख कार्यकारी अधिकृत हुन । उपाध्यायले निकै लामो समय कुमारी बैंकमा व्यवस्थापन प्रमुख भएर काम गरेका थिए ।

हाल बैंक अफ काठमाडौंमा सन्चालक रहेका राधेश पन्त पनि पहिले सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनले केही समय कुमारी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । सिभिल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन पनि हाल प्रोग्रेसिभ फाईनान्समा अध्यक्ष रहेकाछन् । सिभिल बैंक छोडे लगत्तै मर्हजन प्रोग्रेसिभमा सन्चालक भएर गएका थिए ।

प्रतिक्रिया