नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था २५औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती समारोह विविध कार्यक्रमगरि ललितपुर स्थित संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पुर्याउने उद्देश्यले विस २०५३ सालमा स्थापित यस संस्थाको वार्षिकोत्सव तथा रजतजयन्ती समारोहको उद्घाटन संस्थाका अध्यक्ष युद्धराज ओलीले पानसमा दीप प्रज्वलन गरी गरेका हुुन् ।
उक्त कार्यक्रमका सभापती तथा संस्थाका अध्यक्ष सीए.युद्धराज ओलीले सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्दै संस्थाको आव २०७७।७८ को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । मन्तव्यको क्रममा उनले संस्थालाई यस अवस्थासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सवैलाई धन्यवाद ज्ञापन गर्दै यसअघिका नेतृत्वले देखाएको बाटोलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त समारोहको प्रमुख अतिथि महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजतजयन्तीको उपलक्ष्यमा संस्थावाट प्रकाशित स्मारिका तथा संस्थाको रणनीतिक योजना विमोचन गरेका थिए । साथै आफ्नो शुभकामना मन्तव्यको क्रममा मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखाव्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकोले यसतर्फ दत्तचित्त भएर लाग्न सम्वद्ध लेखा व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिहरुमा उत्कृष्ट योगदान पुर्याउने संस्थाको अन्तरिम तथाप्रथम परिषदका अध्यक्ष स्व.कोमल वहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषदका अध्यक्षहरु सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थामा अनवरत २० बर्ष भन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक प्रदान गरिनुका साथै उत्कृष्ट रुपमाकार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण र संवद्र्धन गर्नका लागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स ऐन २०५३ अन्तर्गत स्थापित एक स्वायत्त र नियमनकारी निकाय हो ।
यस संस्थाले उल्लेखित ऐन र सो ऐन अन्तर्गत बनेको नेपाल चाटर्ड एकाउटेन्टस् नियमावली २०६१ को अधिनमा रही नेपालभित्र लेखा ब्यवसायको प्रवर्द्धन, जनशक्ति उत्पादन, र लेखा व्यवसायलाई नियमन गर्ने जस्ता कार्य गर्दै आएको छ ।
संस्थामा हालसम्म १७२९ जना चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु र ख, ग र घ वर्ग गरी कुल ७२३६ जना दर्तावाला लेखापरीक्षक सदस्यहरु आवद्ध छन् । संस्थाले हालसम्म ६३२ जना चाटर्ड एकाउन्टेन्ट्सहरु उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा १२ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया