होला त सन् २०२२ मा कोरोना महामारीको अन्त्य ?
'डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस भन्छन्- यसका लागि विकसित देशहरुले विपन्न देशलाई खोप बाँड्नुपर्छ'

काठमाडाैं । तीव्र गतिमा फैलिरहेको ओमिक्रोनका बीच डब्ल्यूएचओ (विश्व स्वास्थ्य संगठन) का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले वर्ष २०२२ कोरोना महामारीको अन्तिम वर्ष हुनसक्ने कुरा बताएका छन् । यद्यपि उनले यसका लागि विकसित देशहरुले आफुसँग भएको खाेप अरु विपन्न देशहरुलाई बाडनु पर्ने कुरामा जोड दिएका छन् ।
डा. टेड्रसले कोरोनाको महामारी तेस्रो वर्षमा प्रवेश गरेको कुरा बताउँदै भनेका छन्- २०२२ मा यो महामारीको अन्त्य हुनेछ तर त्यसका लागि संकिर्ण राष्ट्रवाद तथा खाेपको जमाखोरी बाधाका रुपमा खडा हुन सक्छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनेका छन्, खाेपको असमान उपलब्धताले ओमिक्रोन जस्तो भेरियन्ट विकसित हुने आदर्श परिस्थिति सृजना गर्छ ।
उनको तर्क छ खाेपको असमान उपलब्धता जति बढि हुन्छ कोरोना भाइरस विकसित हुने जोखिम पनि उति नै बढि हुन्छ । ताजा तथ्यांकअनुसार संसारका कैयन देश खाेप लगाउन निकै पछाडि परेका छन् ।
अहिलेसम्म बुरुन्डि, डेमोक्रेटिक रिपब्लिक अफ कंन्गो, चाड , हाइटी जस्ता देशका एक प्रतिशतभन्दा कम मानिसले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन । उता विकसित देशहरुका ७० प्रतिशतभन्दा बढीले यो खोपको दुई डोज पाइसकेको अनुमान छ ।
डा. टेड्रस भन्छन्- यो असमानता हटेपछि मात्र हामी संसारमा सामान्य जीवन फर्कने कल्पना गर्न सक्छौं । उनले भनेका छन्- यदि हामीले यो असमानतालाई समाप्त गर्योै भने यो महामारी पनि समाप्त हुन्छ । संसारभर अहिले कोरोनाविरुद्धको खाेप, जाँच र इलाज सुलभ बनाउने दिसामा काम भइरहेको छ र यसकै आधारमा अहिले सम्म लाखाैं जीवन पनि जोगिएको छ ।
अहिले कोभिडबाट जोगिने खोपका अतिरिक्त यसको इलाजका लागि दवाइ तथा अन्य मेडिकल टूल्सहरु समेत उपलब्ध छन् । ओमिक्रोन भेरियन्टका सन्दर्भमा डा. टेड्रसले भनेका छन् – ‘ताजा तथ्यांकअनुसार अस्पताल भर्ना भएका कोभिड-१९ का ८० प्रतिशत भन्दा बढी बिमारीले बुस्टर डोज पाएका छैनन् । ‘यूके हेल्थ सेक्रेटरी एजेन्सी (युकेएचएसए) का अनुसार अस्पताल भर्ना भएका ८१५ बिमारीमध्ये ६०८ जनाले खाेपको बुस्टर डोज पाएका थिएनन् ।
नयाँ तथ्यांकअनुसार कोरोनाविरुद्धको बुस्टर डोजले ओमिक्रोन लागेर हस्पिटलाइज हुने जोखिम ८८ प्रतिशतसम्म घटाउँछ । युकेएचएसएद्वारा जारी तथ्यांक भन्छ खोप नलगाएका मानिसहरु कोरोना लागेर अस्पताल भर्ती हुनुपर्ने जोखिम ८ गुणा बढी हुन्छ ।
प्रतिक्रिया