सोमबार, वैशाख १७, २०८१

किन भयो राजेशपायल राईमाथि दुर्व्यवहार ?

भरतकुमार शाक्य २०७८ पुष २० गते १५:५६

केहीदिन अघि अर्थात् नयाँ वर्ष २०२२ को स्वागत गर्ने अवसर जुराएर न्युयोर्कमा भएको एउटा कार्यक्रममा राजेशपायल राई गीत गाउन नेपालबाट आइपुगेका थिए। राजेशले गीत गाउन थालेको केही समय पछि नै तथा कथित शुभेच्छुकले गाइरहेका राजेशलाई दुर्व्यवहार गरे। दुर्व्यवहारपछि पनि राजेशले कार्यक्रम पूरा गरे, तर नयाँ वर्षको पहिलो दिन दुर्व्यवहारको भिडियो भाइरल हुने, अमेरिका र नेपालमा उक्त घटनाप्रति दुःख र खेद प्रकट गर्ने क्रम समाचार र सामाजिक सन्जालभरि नै भयो ।

आयोजकहरूले घटना नै नभएको जस्तो भन्न र सामान्य केही होइन जस्तो प्रतिक्रया दिन खोजेको देखियो। अर्को दिन तथाकथित दुर्व्यवहारकर्तालाई राजेशलाई खादा लगाइदिँदै एक बोतल पेय पदार्थ दिएर माफी माग्न लगाएको पाइयो । जातिय परम्परा र संस्कारको कुरा पनि सामाजिक सन्जालमा लेखेको पाइयो। आयोजकहरू नै अग्रसर भएर घटना सामसुम होस्, सामान्य रूपमा लिइयोस् भन्ने मनसाय देखियो ।

तर घटना सामान्य रूपमा टुंगि हाल्ने देखिन्न। यसको असरले निरन्तरता पाउने देखिन्छ । यो घटनाले धेरै अनुत्तरित प्रश्नहरू उठाएका छन् । आयोजक, राजेश पायल राई, कलाकारहरू, दर्शक-श्रोता, नेपाली समुदाय र शुभचिन्तकहरूले फेरि नदोहरिने गरि सिक्नु पर्ने पाठहरू दिएका छन् । कुनै पनि कार्यक्रम आयोजना गर्नु भनेको रहर र रकमले मात्र गर्न सकिने होइन र टिकट बिक्री हुदैमा र दर्शक-श्रोता जम्मा हुँदैमा नाफाको व्यापार भए जस्तो पनि होइन । कार्यक्रम आयोजनासँग कला, सृजना र सृजनात्मक सक्षमता, सभ्यता र संस्कार पनि गाँसिएको हुन्छ ।

सबै कुरामा खेलाँची गर्ने बानीले गुणस्तर, कार्यक्रमको प्रभावकारिता र परिणाममा असर देखाउँछ । यो सिद्भान्त र व्यावहारिक र इभेन्ट आयोजनाको न्यूनतम कुराको ख्याल नगरिएको देखिन्छ । कुनै कार्यक्रममा कार्यक्रम निर्देशन गर्न सक्ने वा इभेन्ट म्यानेजरको जिम्मा दिएर काम गरिनु पर्छ ।

कार्यक्रम वा इभेन्ट व्यवस्थापनका धेरै पक्ष छन्, कुन समय, परिस्थिति र सम्बन्धित स्थानका लागि उपयुक्त हुन्छ कुशल म्यानेजरले मात्र निर्णय गर्न सक्छ । यो तथ्य बेवास्ता गरिएको पाइयो । राजेश पायल राई र अरू सबै कलाकारले नेपालबाट विदेशमा कार्यक्रम गर्न पाउनु मात्र ठूलो कुरा ठान्नु हुन्न ।नेपाली कलाकारहरूले विदेशमा कार्यक्रम गरेर जीवन धान्न सकेका छन् भन्ने सबैले भन्ने गरेका कुरा हुन, तर जे जति कार्यक्रम भइरहेका छन् त्यसको आधिकारीकता कहिले पनि खोजिएको छैन ।

निकट दिनहरूमा आधिकारीकताको प्रश्नले दुर्घटना भएको सुन्न हेर्न नपर्ला जस्तो लाग्दैन । राजेश पायल राई जस्ता कलाकारले व्यवसायिकता नबुझेर टिकटक र फेसबुक लाइभको लोभ गरेर मोबाइलले सम्पूर्ण कार्यक्रम खिचाउने काम गर्नु ठिक होइन । स्टेज भरिका उभिएका सबैले मोबाइलबाट अनि हरेक मोबाइल बोकेकाले भ्याएसम्म खिच्न पाउने र खिच्ने हो भने गीत संगीत र कला, स्वर शब्दको भाव, कलाकारको सम्मान गर्ने कसले ? यस्तो कार्यक्रममा कुनै आधिकारीकलाई मात्र खिच्न दिने गरिनु पर्छ र कलाकारले पनि आफ्नो कलाको कदर गरेको वातावरण सृजना गर्न गराउन सक्नु पर्छ ।

दर्शक-स्रोता नाच्ने, झुम्ने, सँगै गाउने भनेको त कलाकारको प्रभावले लठ्याउने हो, मादक पदार्थ र हल्लाले होइन । सभ्य कला, सृजनाको कार्यक्रममा मादक पदार्थ सेवन, त्यस्तालाई प्रवेश, कला कलाकारको बेइज्जत गर्नु बराबर हो । कार्यक्रम समाप्तिको खुसीयाली मनाउनु भनेको अर्कै कुरा हो । यो धटनामा आयोजक पक्षको सुरूको ढाकछोप र कुतर्क अनि मिलेमतोको प्रयासले अव्यवसायिकता देखायो, आयोजक प्रति अविश्वासको दाग मेट्न गारो हुन्छ ।

न्युयोर्कमा कार्यक्रम गर्न धेरै हिचकिचाउने छन् । राम्रा दर्शक-श्रोता मारमा पर्छन् । गीत-संगीतको कार्यक्रममा गीत संगीत सुनेर बुझ्न र आनन्द लिन, अविस्मरणीय क्षण बनाउन दर्शक-श्रोतालाई बोलाऔं, भिड गर्न, पिउन र हल्ला गर्न होइन ।

प्रतिक्रिया