४३ जनाको उम्मेद्‌वारी दर्ता

नेपालखोज २०७८ पुष २० गते १८:४२

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेद्‌वारी दर्ता गराएका छन् । निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते निर्वाचन गराउँदै छ ।

निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिकाअनुसार आज परेको उम्मेद्‌वार मनोनयन दर्ताअन्तर्गत ४३ जनाले उम्मेद्‌वारी दर्ता गराएका हुन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशबाट ४३ जनाले उम्मेद्‌वारी दर्ता गराएको जानकारी दिए ।

जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएको सहायक प्रवक्ता धमलाले बताए ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेद्‌वारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानबिन हुने, २३ गते नै उम्मेद्‌वारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेद्‌वारलाई उम्मेद्‌वारी फिर्ता लिनका लागि समय दिइएको छ ।

२५ गते उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्‌न प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए ।

प्रतिक्रिया