नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतिपूर्ण समयपछि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएकी छन् ।
“स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ मंगलबार राजधानीमा आयोजना भएको प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उनले कोरोनाको कारण बन्द बोर्डर खुला भएपछि पूर्ण रुपमा कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिईन ।

धेरै चुनौतिका बाबजुद अहिलेको समयमा पूर्ण खोप लगाएका र भिसा लिएका योग्य विद्यार्थीहरुलाई अष्ट्रेलियामा प्रवेश गराइदै आएको जानकारी दिंदै उनले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्ध रहेको दोहोर्याईन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले पुस २० गते मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो ।

शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बिमा सेवासमेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहेको थियो । प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै व्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।
यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बिमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहको थियो ।
प्रतिक्रिया