सार्क समिट : पाकिस्तान इच्छुक, भारत अनिच्छुक

काठमाडाैं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीले भारतलाई सार्क सम्मेलनको निम्तो पठाउने कुरा दोहोर्याएपछि लामो समयदेखि अवरुद्ध दक्षिण एसियाली क्षेत्रिय संगठन शार्क फेरि एक पटक चर्चामा छ । काठमाडौंमा सचिवालय भएको यो संगठन केही वर्ष यता मृत जस्तै छ भने यसको निर्धारित सम्मेलन पनि हुन सकिरहेको छैन ।
दक्षिण एसियाली देश नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान तथा माल्दिभस समावेस यो संगठन यी देशहरु बीच आपसी सहयोग, भाइचारा बढाउनुका साथै क्षेत्रिय मुद्दाहरुलाई सामूहिक रुपमा हल गर्ने उदेश्यले निर्माण भएको थियो । पछि गएर अफगानिस्तान पनि यो संगठनमा आवद्ध भयो भने चिनलाई यसमा समावेश गर्नुपर्ने कुरा भित्र/भित्रै चल्न थालेपछि संगठनको सबैभन्दा शक्तिशाली सदस्य भारत यसबाट पर भाग्न थाल्यो ।
अहिले पनि पाकिस्तानी विदेश मन्त्रीको भनाइमा भारतले निकै सावधानिपूर्वक आफ्नो प्रतिक्रिया दिएको छ । भारतिय संचारमाध्यमहरुले भारत सरकारको सूत्रको हवाला दिदैं सार्वजनिक गरेको समाचारअनुसार भारतले होइन कि पाकिस्तानको काम- व्यवहारकै कारण सार्क सम्मेलनमा बाधा खडा भएको छ ।
पछिल्लो सार्क शिखर सम्मेलन २०१४ मा काठमाडाैंमा सम्पन्न भएको थियो भने त्यस पछिको सम्मेलन पाकिस्तानमा हुनुपर्ने थियो । यद्यपि भारत-पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण भारतले पाकिस्तानमा हुने सार्क सम्मेलन वहिष्कार गर्दै आएको छ । भारत सहभागी नहुने भएकाले यो सम्मेलन पनि हुन सकेको छैन ।
अहिले पनि भारत सरकारका सुत्रहरुले भारतिय संचार माध्यमहरुलाई के भनेका छन् भने पाकिस्तानी विदेश मन्त्रीले सार्क सम्मेलनको औपचारीक निम्तो पठाए भारतले सोच विचार गरेर निर्णय लिनेछ । भारतको विदेश मन्त्रालयका सुत्रहरु भन्छन्-अहिले पाकिस्तानले सार्क सम्मेलनको कुरा मात्र उठाएको छ यसको तिथि/मितिको घोषणा वा औपचारीक निम्तो पठाएको छैन तसर्थ यसमा अहिले नै केही भन्नुभन्दा औपचारीक निर्णय आएपछि भारतको दृष्टिकोण स्पष्ट रुपमा अगाडि आउने छ ।
सार्क सम्मेलनका लागि यसपटक अफगानिस्तान सम्बन्धी एउटा नयाँ विवादसमेत सृजना भइसकेको छ । भारतले अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिएको छैन भने पाकिस्तान अफगानिस्तानको नयाँ सत्ताको समर्थनमा छ । यस्तोमा भारतले तालिवानी सरकारको प्रतिनिधित्व रहने सम्मेलन वहिष्कार गर्ने प्रवल सम्भावना छ ।
अहिले भारत/पाकिस्तान सम्बन्धमा हल्का नरमपन देखिए पनि सार्क सम्मेलन बोलाउने पाकिस्तानी चाहनामा अनेकौं बाधाहरु फुक्न बाँकी नै छ । खासगरी यसमा भारतको चाहना बिना केही हुन सक्ने देखिदैन भने भारत चाँहि यो संगठनका बहुमत सदस्य मुलुक आफ्नो विपक्षमा भएको मानेर यसप्रती उदासिन रहँदै आएको छ ।
अहिले फेरि एकपटक पाकिस्तानी विदेश मन्त्रीको निम्तोमा भारतको अनाैपचारीक प्रतिक्रियाले के बुझाउँछ भने भारत अझैं सार्क संगठन प्रति सशंकित नै छ र उ आफ्नो स्वार्थभन्दा बाहिर जाने गरी सार्क सम्मेलन हुन दिने पक्षमा पनि देखिँदैन ।
प्रतिक्रिया