ओमिक्रोनको लक्षण के हो, कति बेला जचाउने ?

काठमाडौं । अहिले संसारभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोप लगातार बढिरहेको छ । मानिसहरुमा यसको लक्षणलाई लिएर पनि भ्रम अनि चिन्ता छ किनभने यसका लक्षण नै सामान्य रुघा/ खोकीसँग मिल्दोजुल्दो भएर छुट्टाउन नसकिने वा भ्रमित तुल्याउने खालको छ ।
घाँटी खसखसाउने वा खोकीबिनाको सर्दी, बिनारुघा/खोकी घाँटी मात्र खसखसाउनु, नाक बग्नु वा नाकमा सिंगान जमेर नाक बन्द हुनु आदि लक्षण कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको केही प्रारम्भिक लक्षण हुन् । यसमध्ये एउटा मात्र लक्षण देखिए साधारणत: पीसीआर गराइहाल्नु पर्दैन तर आफूलाई शंका छ वा आफ्नो यात्रा इतिहास सन्देहस्पद छ भने लक्षण देखिनेबित्तिकै पीसीआर टेस्ट गराएर सुनिश्चित हुनु उपयुक्त हुन्छ ।
माथि उल्लेखित लक्षणमध्ये एउटा मात्र लक्षण देखिने बित्तिकै आफुलाई ओमिक्रोनले संक्रमित गर्याे भनेर सोच्नु चाहिँ गलत हो । विज्ञ चिकित्सकहरु भन्छन्, ‘घाँटी खसखसाउनु ओमिक्रोनको लक्षणहरु मध्ये एउटा लक्षण हो तर घाँटी खसखसाउने बित्तिकै ओमिक्रोनले संक्रमित गर्याे नै भन्ने हुँदैन ।’ यद्यपि आफू यात्राबाट आएको छ वा लामो यात्राबाट आएको मानिससँग आफ्नो भेटघाट सम्पर्क भएको छ र आफ्नो घाँटी खसखसाउनुका साथै नाक बग्ने, ज्वरो तथा शारिरीर पीडा छ भने कोभिड टेस्ट गराइहाल्नुपर्छ ।
घाँटीमा समस्या मात्र हुनुको अर्थ ओमिक्रोनको संक्रमण नहुन सक्छ । त्यो सामान्य माैसमी फ्लू हुनसक्छ । यसमा आतिने वा डराउने स्थिति हुँदैन । अहिलेसम्मको रिपोर्ट अनुसार ओमिक्रोन हल्का लक्षण भएको कम हानिकारक भेरियन्ट हो तर यो तुलनात्मक रुपमा बढी तिब्रताका साथ फैलन्छ । अहिले जसको ट्राभल हिस्ट्री छैन उनीहरु पनि ओमिक्रोनले ग्रसित भएको पाइएको छ ।
यसको अर्थ ओमिक्रोन कम्युनिटीमा ट्रासमिसन हुनु हो । अर्कातिर के पनि भनिँदै छ भने कोरोनाविरुद्धको खाेपको दुवै डोज खोप लिनेहरुमा पनि संक्रमणको सम्भावना कम हुन्छ वा संक्रमित नै भइहाले पनि हल्का लक्षण मात्र देखिन्छ वा बिमारी गम्भीर स्थितिमा पुग्दैन । तर यसो भन्दैमा कोरोनाविरुद्धको खोप लगाएकाहरु ओमिक्रोनबाट मर्दै-मर्दैनन भन्ने होइन । एकाध घटनामा त्यस्तो भएको पनि छ ।
ओमिक्रोनको संक्रमणमा हल्का र सामान्य लक्षण देखिन्छ जसमा भोक नलाग्नु तथा हल्का कमजोरीसमेत सामेल छ । अन्तर्राष्ट्रिय तथ्यांकअनुसार, ओमिक्रोनको अधिकांश संक्रमणमा खोकी, सर्दी, श्वास फुल्ने, गन्ध र स्वाद हराउने, तिब्र ज्वरो तथा शरीर दुख्ने, अक्सिजन लेवल घटने जस्ता पुराना लक्षण देखिँदैनन् ।
यस्तो स्थितिमा आफ्नो कुनै ट्राभल हिस्ट्री छैन वा आफ्नो त्यस्तो ट्राभल हिस्ट्री भएका व्यक्ति सँग सम्पर्क भएको छैन वा आफ्नो काम फिल्डको होइन भने गलाको समस्या वा शरीरको पीडा जस्ता सामान्य लक्षण देखिने वित्तिकै अनावश्यक टेस्ट गराउन तिर लाग्नुभन्दा होम क्वारेन्टाइनमा बसेर सामान्य उपचार गरि आफ्नो स्थिति माथि निरन्तर निगरानी राख्नु उपयुक्त हो ।
प्रतिक्रिया