शनिबार, जेठ ४, २०८२

‘ए’ डिभिजन लिग : संकटा र सातदोबाटोको खेल बराबर

नेपालखोज २०७८ पुष २३ गते १५:५४

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए ।

सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता संकटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए । खेलको २३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो ।

सातदोबाटोको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२औँ मिनेटमा संकटाका खेलाडी जयाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको हो । यस बराबरी खेलसँगै अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अंक जोडेर अंक तालिकाको आठौँ स्थानमा पुगेको छ ।

प्रतिक्रिया