दशककै उच्च विन्दुमा किन पुग्यो खाद्यवस्तुको मूल्य ?

काठमाडौं । विश्वभर खाद्य वस्तुको मूल्य बितेका दश वर्षको तुलनामा उच्चतम स्तरमा पुगेको छ । संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफएओ) द्वारा हालै जारी फुड प्राइस इन्डेक्सअनुसार २०२१ मा यो इन्डेक्स सरदर १२५.७ अंकमा रह्यो जुन २०२० को तुलनामा २८.१ प्रतिशतले बढी हो । यसअघि सन् २०११ मा यो इन्डेक्स उच्चतम् विन्दु १३१.९ अंकमा पुगेको थियो ।
एफएओको यो फुड प्राइस इन्डेक्स अन्तर्राष्ट्रिय स्तरमा हरेक महिना खाद्य वस्तुहरुको मूल्यमा आउने उतार-चढावमा आधारित हुन्छ । यो इन्डेक्सअनुसार २०२१ को पछिल्लो पाँच महिनामध्ये चारमहिना खाने पिउने वस्तुको मूल्यमा लगातार चार महिना वृद्धि देखिएपछि डिसेम्बरमा भने केही गिरावट आएको देखिन्छ ।
डिसेम्बर २०२१ मा अन्नको मूल्य ०.६ प्रतिशतले कमी आएको पाइयो र त्यो औसत रुपमा १४०.५ अंक मा रह्यो । पूरै वर्षको कुरा गर्दा अन्नपातको मूल्य २७.२ प्रतिशत वृद्धिका साथ २०१२ पछिको उच्चतम् वार्षिक मूल्यको रेकर्ड बनाउने स्तरमा थियो ।
२०२० सँग तुलना गर्दा सबैभन्दा बढी मूल्य मकैको बढेको पाइन्छ । मकैको भाउ २०२१ मा ४४.१ प्रतिशतले बढेको देखिन्छ । यसैगरी गहुँको मूल्य ३१.३ प्रतिशतले बढेको पाइन्छ भने चामलको मूल्यमा ४ प्रतिशत कमी देखिन्छ । चामलको मूल्यमा कमी आउने कारण यसको पर्याप्त उपलब्धता हो भने आपूर्तिकर्ताहरुबीचको प्रतिस्पर्धा यसको मूल्यमा कमी आउने अर्को कारण थियो ।
वनस्पति तेलको मूल्य २०२० को तुलनामा ६८.८ प्रतिशतले वृद्धि भएको पाइएको छ जसलाई निकै ठूलो मूल्यवृद्धि मान्न सकिन्छ । चिनीमा पनि २०२१ मा २९.८ प्रतिशतको वृद्धि देखियो जुन मूल्य २०१६ पछिको सबैभन्दा बढी हो । एफएओको यो विश्लेषणअनुसार मूल्यवृद्धि को यो परिस्थिति सिर्जना हुनुमा ओमिक्रोन भेरियन्टको प्रभावले समेत काम गरेको छ ।
यदि डेरी अर्थात् दुग्ध उत्पादनको कुरा गर्ने हो भने यो नै एउटा यस्तो क्षेत्र हो जहाँ डिसेम्बरमा पनि मूल्यवृद्धि देखियो र उक्त वृद्धि नोभेम्बर २०२१ को तुलनामा १.२ प्रतिशत बढी थियो । पश्चिमी युरोप तथा ओसिनिया क्षेत्रमा दूधको उत्पादन नै कम भएका कारण यो मूल्यवृद्धि भएको हो । समग्रमा हेर्दा २०२१ मा डेरीको मूल्य सूचकांक २०२० को तुलनामा १६.९ प्रतिशतले माथि छ ।
एफएओका वरिष्ठ अर्थशास्त्री अब्दुल रजा अब्बासी भन्छन्- सामान्य रूपले माग पूरा गर्न उत्पादन बढाइन्छ, जसका कारण मूल्य पनि स्थिर रहन्छ । यद्यपि यसपटक स्थिति अर्कै छ । अहिले एकातिर उत्पादनको लागत लगातार बढिरहेको छ भने महामारी र जलवायु परिवर्तनका कारण बजारमा सुधार आउने सम्भावना निकै कम छ । उनका अनुसार २०२२ मा पनि स्थिति यस्तै रहने देखिन्छ ।
प्रतिक्रिया