बिहीबार, वैशाख १३, २०८१

पृथ्वीनारायणको सम्मान र सम्झनामा कन्जुस्याइँ किन ?

भरतराज पौडेल २०७८ पुष २७ गते १६:४६

पृथ्वीनारायण शाहको वर्णन र योगदानको कदर गर्नु मात्रै पनि राजतन्त्रवादी हुनु होइन । त्यसो त राजतन्त्रका अनेक रूप र सार छन् । जुनसुकै खाले सत्ताको पनि मति बिग्रियो भने हुने भनेको एकतन्त्रीय, अधिनायकवादी वा नेपालका मै हुँ भन्ने खुँखार लोकतन्त्रवादीले भने जस्तै जनताको अधिकार खोस्ने राजतन्त्र हो । एकतन्त्रीय कम्युनिस्ट शासन पनि एकखालको राजतन्त्र नै हो भने पनि हुन्छ । अनि प्रजातन्त्रको नाममा सञ्चालित राज्यका सबै संयन्त्र कब्जा गरेर प्रविधिक रूपमा पार्टी र संसद्‌को चुनाव जितेर प्रजातन्त्रको नाममा शासन गरिरहने अकर्मण्य नेताहरूको पंक्तिले चलाएको व्यवस्था त झन् भयानक डरलाग्दो राजतन्त्र नै हो । जुन अहिले पनि छ । अझै भनौँ भने जातीय द्वन्द्वविहीन र सामाजिक न्यायको अनेकौं सुविधा उपभोग गर्दै बहुलवादी बहुसांस्कृतिक पश्चिमी समाजको रौनकमा रमाएका तर पृथ्वीनारायण शाहलाई बेस्सरी गाली गरेर नथाक्ने र उनैले बसाइदिएको जगमा उभिएर यहाँसम्म बाटो तय गरेको यथार्थ भुल्नेहरू पनि एकतन्त्रीय राजतन्त्रका पर्याय हिमायती हुन् ।

इतिहासको कालखण्डमा राजाहरूले आफ्नो सत्ता टिकाउन अनेक थोक गरे, आ-आफ्नै भाई भारदारको विनाश पनि गरे । त्यो बेला संसारभर त्यस्तै हुन्थ्यो। ब्रिटिस, जर्मन, टुर्क, पोर्चुगिज सबै शासनको विगत यस्तै थियो र समयले परिवर्तन गर्दै ल्याएको हो हाम्रो सामाजिक राजनीतिक परिवेशलाई । हाम्रै भूमिमा किरात, लिच्छवि, मल्ल, राणा र शाह वंश हुँदै अहिलेको लोकतन्त्रसम्म आइपुग्दा कति शासकले सत्ता हातमा आइपरेपछि त्यसको स्वाद फेरेर दुरुपयोग गरे, यस्ता सयौँ उदाहरण छन् । तर कतिले यिनै अनेकौँ खण्डमा थुप्रै जनहितकारी र राष्ट्रहितको काम पनि गरे । यी संसारकै थुप्रै शासन शैलीका अनेकौँ चरण थिए। यिनैबीच पृथ्वीनारायण शाहले पनि गोरखादेखि सुरु राज्यहरू जोड्ने अभियानलाई अनेकौँ उतारचढावका बीच काठमाडौंसम्म ल्याएर टुंग्याए । त्यही उनैले निर्माण गरेको राज्यमा हामीले पनि त फुर्तीफार्ती गर्न पाएकै छौँ । इतिहास कलंकित होस् वा गौरवशाली होस् त्यसलाई निरन्तरता दिँदै हामीलाई उभिएर आ-आफ्नै वर्ग, समाज, तप्का र राजनीतिक सिद्धान्त अजमाउने माटो उपलब्ध गराउने पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा यो सन्देश पस्कन पाउँदा गौरवान्वित महसुस हुन्छ ।
उस्तै परे जंगबहादुर र बहादुर शाहहरूलाई सम्झिँदा पनि खेर जान्न ।

पृथ्वीनारायणले त्यो बेला गरेको भनेर अहिले आरोप लगाइएका कतिपय पक्षपाति कदम त्यो बेलाका विश्वभरका शासकहरूका अनेकौँ शैली वा विवादास्पद छविका अपवाद हुन सक्छन् । तर तिनै अनेकौँ भ्रम र यथार्थबीच पनि पृथ्वीनारायण अझै पनि महान् छन् । अहिले उनको विरुद्ध उफ्रनुको कुनै तुक छैन । अहिलेको व्यवस्था सुधारौँ अहिलेका लोभीपापी र भ्रष्ट नेतालाई सुधारौं, तिनको ठिङ्गरी बजाऔँ।

अन्त्यमा कवि रमेश पौडेलको मुक्तक :
“केकझैं काटेर, बाँड्न मिल्दैन देश।
राख्नू मिलाएर, भाँड्न मिल्दैन देश।।
जनता बलिया भया, देश बलियो हुन्छ।
मल जल गरौँ, फाँड्न मिल्दैन देश।”

प्रतिक्रिया