बिहीबार, वैशाख ६, २०८१

मनलाई कसरी नियन्त्रित गर्ने ?

स्वामी विवेकानन्द २०७८ पुष २८ गते ८:१०

मनलाई काबुमा राख्ने प्रयास गर्नुअघि यसलाई बुझ्न जरुरी छ । चञ्चल मनलाई संसारको चमकदमकबाट तानेर, सांसारिकताबाट अलग राख्दै एक प्रकारले स्थिर तुल्याउनु त्यति सहज कुरा होइन । यस्तो अभ्यास बारम्बार गरिरहनुपर्छ । इच्छाशक्तिद्वारा मनलाई संयमित गर्दै, त्यसलाई साँधेर, भगवान्‌को महिमामाथि विचार मन्थन गर्नुपर्छ । मनलाई नियन्त्रित गर्ने सबैभन्दा सरल उपाय चुप लागेर बस्नु हो । केहि समयका लागि मनलाई खुला छोडिदिउँ, मन जता जान चाहयो जाओस् । आफूले दृढतापूर्वक के मात्र सोचिरहनुपर्छ भने, ‘म दर्शक हुँ, साक्षी हुँ, म बसिबसी मेरो मन डुबेको-उठेको हेरिरहेको छु । म यो मन होइन !’ त्यसपछि आफ्नो मनलाई हेर्नुहोस् र सोच्नुहोस्, मन आफूबाट एकदम अलग छ । आफू भगवान्‌सँग एकाकार भएको मान्नुहोस् । कुनै निर्जीव वस्तु वा मनसँग आफूलाई एकाकार नगर्नुहोस् ।

कल्पना गर्नुहोस्- मन तपाईंको अगाडि फैलिएको एउटा शान्त झील हो । मनमा जे विचार उठिरहेको छ, त्यो झीलमा उठेको पानीको फोका जस्तै हो जुन सतहमा आएर विलिन हुन्छ । विचारलाई नियन्त्रित गर्ने प्रयास नगर्नुहोस् । कल्पनाको आँखाले त्यसलाई दर्शकसरह हेरि मात्र रहनुहोस् कि त्यो कसरी बहँदै बहँदै अगाडि बढिरहेको छ ।

तलाउमा ढुंगा फ्याँक्दा जसरी सुरुमा तीव्र तरंग उठ्छ र यसको तरंगको परिधि जति ठूलो हुँदै जान्छ, तरंग त्यति नै कम उठ्छ । यसैगरी मनलाई पनि खुला छोडिदिँदा त्यसको विचारको परिधि जति ठूलो हुन्छ, मनमा त्यति नै कम विचार उठ्छ । यहाँ हामी यो प्रणालीलाई उल्टाउन चाहन्छौं। पहिले विचारको ठूलो वृत्तबाट सुरु गरेर त्यसलाई सानो-सानो परिधिमा खुम्च्याउँदै जब हामी मनलाई एउटा विन्दुमा ल्याइपुर्याउँछौं, तब त्यसलाई त्यहीँ स्थिर गर्नुपर्छ । यस्तो भाव जगाउनुपर्छ, ‘म मन होइन । म त हेरिरहेको छु । म सोचिरहेको छु । म आफ्नो मनको गतिविधिलाई नियाली रहेको छु ।’ यो अभ्यास निरन्तर गरिरहने हो भने आफ्नो मनका साथ हाम्रो जुन एकाकार भाव छ त्यो प्रतिदिन कम हुँदै जान्छ । अनि अन्त्यमा तपाईंले आफैंलाई आफ्नो मनबाट पूरै अलग भएको पाउनुहुन्छ र तपाईं ले राम्रोसँग बुझ्नु हुनेछ कि वास्तवमा यो मन भन्ने कुरा त आफूभन्दा अलग रहेछ ।

जब यो कुरा सम्भव हुन्छ, तब मन तपाईंको दास हुनेछ जसलाई तपाईं आफ्नो इच्छाअनुसार नियन्त्रित गर्न सक्नुहुनेछ । योगी हुने बाटोको पहिलो खुड्किला हो- आफ्नो इन्द्रीयहरुभन्दा पर जानु र जब आफ्नो मनमाथि विजय हासिल हुन्छ, तब सम्झनुहोस् कि तपाईंको साधनले सर्वोच्च स्तर प्राप्त गर्दै छ । जहाँसम्म सम्भव हुन्छ एक्लै बस्नुपर्छ । आशन बढी अग्लो हुनु हुँदैन । पहिले कुश-आसन, त्यसपछि मृगचर्म अनि रेशम वा वस्त्र ओच्छयाउनुहोस् । समग्रमा आफ्नो आशन दृढ हुनुपर्छ ।

हर किसिमका विचार त्यागेर मनलाई खाली गर्नुपर्छ । जसै मनमा कुनै विचार उठ्छ तत्काल त्यसलाई मनबाट हटाउनुपर्छ । यसमा सफलता प्राप्त गर्न हामिले निर्जीव वस्तुहरु तथा आफ्नो शरीरभन्दा माथि उठनुपर्छ । साच्चिँकै भन्ने हो भने हामी मनुष्यको पूरा जीवन नै यही अवस्थासम्म पुग्ने एक अनवरत प्रयास हो ।

हाम्रा श्रेष्ठ आदर्श भगवान् हुन् । उनको ध्यान गरौं । हामी ज्ञातालाई चिन्न सक्दैनौं किनभने त्यो हाम्रै स्वरूप हो । हामी अशुभको सृष्टि आफैं गर्छौं किनभने हामी अशुभ कुरा हेर्छौं । हामीभित्र जे छ हामीबाहिर पनि त्यही देख्छौं । यो संसार हाम्रा लागि ऐनासरह छ । यो सानो शरीर हामीले नै सृष्टि गरेको एउटा सानो ऐना हो, तर साँचो अर्थमा यो सारा संसार नै हाम्रो शरीर हो । यो कहिल्यै बिर्सन नहुने कुरा हो । किनभने त्यसपछि नै हामी बुझ्न सक्छौं कि- हामी न मर्न सक्छौं न हामीले कसैलाई चोट नै पुर्याउन सक्छौं । किनभने हामी जसलाई चोट पुर्याउँछौं ऊ पनि आफैं हौं । हाम्रो न जन्म छ, न मृत्यु । हामीसँग कर्तव्य मात्र छ- केवल सबैसँग प्रेम गर्दै अघि बढ्ने ।

‘यो विश्वजगत मेरो शरीर ह‍ो । सबै स्वास्थ्य, सबै आनन्द मेरै हुन्, किनकि यी सबैकुरा य‍ो विश्वको भित्रै छ ।’ भन्नुहोस्- ‘म नै विश्वजगत हुँ ।’ कल्पनाले हाम्रा लागि परम-मित्रको काम गर्छ । कल्पना तर्कको सीमाभन्दा परसम्म जान्छ र कल्पनाको प्रकाशले नै हामीलाई सबै ठाउँमा पुर्याउन सक्छ । प्रेरणा हामीभित्रै बाट उठ्ने कुरा हो तसर्थ हामीले आफ्नै उच्चतर शक्तिद्वारा आफैंलाई अनुप्रेरित गर्नुपर्छ ।
(राजयोग बाट)

प्रतिक्रिया